आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा कलेजमा एमबिएस कक्षा सुरु, बिद्यार्थीहरुमा हर्ष

एपी खबर २०७८ आश्विन ७, बिहिबार (२ साल अघि) ३१६ पाठक संख्या

बारा । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त बाराको सिमरास्थित सिमरा कलेजमा एमबिएस (मास्टर अफ् बिजनेस स्टडिज) कक्षा सुरु भएको छ । बिश्वबिद्यालयले यस बर्षबाट सिमरा कलेजलाई एम.बि.एस कक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि बुधबारबाट कक्षा सञ्चालनमा आएको हो ।

 

कक्षा सञ्चालनको पहिलो दिन एम.बि.एस भर्ना भएका छात्रछात्रालाई अभिमुखीकरण गरिएको छ । बारा जिल्लामै पहिलो पटक सञ्चालनमा आएको एमबिएस कक्षाको पहिलो दिन बिद्यार्थीहरुलाई खादा लगाएर स्वागत तथा कलम र डायरी हस्तान्तरण गर्दै सम्मान गरीएको छ । अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छात्रछात्रालाई कलेज सञ्चालक समिति र कलेज प्रशासनले स्वागत तथा सम्मान गरेको हो ।

 

कलेज सञ्चालक समितिका अध्यक्ष मदनबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य एवं कलेज सञ्चालक समिति सदस्य शोभा कार्की, सञ्चालक समिति सदस्य एवं नेपाल राष्ट्रिय मावि सिमराका प्रधानाध्यापक शंकर आचार्य, शिक्षकहरूका तर्फबाट राजु कार्की र विद्यार्थीहरूका तर्फबाट चनदन चौधरीले आफ्नो धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा सञ्चालक अच्युत सिटौला, ईश्वर ढुङ्गेल,मधुशुदन अधिकारी, शिक्षक प्रतिनिधि सन्चबहादुर दोङ, सहायक कलेज प्रमुख चन्द्रबहादुर लिम्बु, शुभारम्भ कलेजका प्रमुख अनिल चौधरी, अध्यापक द्वारिका उप्रेति, ,रामप्रसाद पौडेललगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेज प्रमुख शालिकराम अधिकारीले गर्नुभएको थियो ।

 

२०७७ फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सूचनाको आधारमा एम.बि.एस कक्षा सञ्चालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेका थियो र चैत्र ६ गते व्यवस्थापन सकाय विद्यापरिषद् स्थायी समितिको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा सञ्चालनको सम्भाव्यता अध्ययन सूचीमा राखी सम्भाव्यता अध्ययन समेत गरेको थियो । त्रि.विले २०७८ साउन १ गते एक सूचना जारी गर्दै सिमरा कलेजलगायत देशका २३ कलेज÷क्याम्पसलाई शैक्षिक वर्ष २०७८÷७९ देखि एम.बि.एस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

प्रदेश २ मै उत्कृष्ट सिमरा कलेजमा एमबीएसको पढाइ सञ्चालनमा आएपछि आफ्नै गाउँठाउँमा मास्टर डिग्री पढ्न पाउने भन्दै बिद्यार्थीहरुले खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस