आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ९६ पाठक संख्या

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

 

माध्यमिक शिक्षा परीक्षा, २०७९ ९एसइई० मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो ।

 

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

 

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस