आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिकेहरुलाई संगठन दिन खोजिए समानान्तर कमिटी: काफ्ले

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ७२० पाठक संख्या

 पौष २९ :  महाधिवेशनको संघारमा पुग्दै र विभिन्न कारणले पछि सारिँदै गरिएको नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ, त्रिविले स्ववियु निर्वाचनको मिति तोकेपछि पुनः अधिवेशनबाट पछि हट्ने संकेत देखिएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले भने अधिवेशन गर्न खोज्दाखोज्दै विभिन्न कारणले सर्दै आएको तर्क गर्नुहुन्छ । नेविसंघको अन्योलपूर्ण महाधिवेशन र आसन्न स्ववियु निर्वाचनलगायतका विषयबस्तुमा केन्द्रित रहेर जनतासमाचार डटकमका नरेश न्यौपानेसँग विद्यार्थी नेता काफ्लेले गरेको कुराकानीः

नेविसंघको महाधिवेशन पुनःअन्योलतातिर धकेलिने भयो ?
तपाईंको प्रश्न नै गलत भयो । नेविसंघको महाधिवेशन अन्योलतामा परेकै छैन । हाम्रो महाधिवेशन स्थानीय तथा प्रदेशसभा चुनावमा व्यस्तता, पार्टीको महाधिवेशन र हाम्रै अधिवेशनका निम्ति ७७ वटै जिल्लामा स्थानीय निकायमा समेत अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले समयको कमीका कारण हुन नसकेको हो । हालसम्म १४ वटा जिल्लामा मात्रै हामीले अधिवेशन गर्न सकेका छौँ । अन्य जिल्लामा पनि अधिवेशन हुने क्रम जारी छ ।

यसपटक पनि तोकिएको मितिमा महाधिवेशन हुन नसक्नुको कारण चाहिं के हो ?
यतिबेला एकातिर त्रिविले स्ववियु निर्वाचन घोषणा गरिसकेको र अर्कातिर हाम्रा जिल्ला अधिवेशन हुने क्रम जारी रहेका कारण तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने स्थिति बनेको हो । सँगै क्याम्पसहरुमा जाडो बिदा भएर विद्यार्थी नै नहुनु र उच्च हिमाली जिल्लामा हिमपातका कारण विद्यालय नै बन्द भएका कारण हाम्रा जिल्ला अधिवेशनहरु प्रभावित भएका कारण महाधिवेशन हुन नसकेको हो । अर्को कुरा, पार्टीका केही नेताहरु नै महाधिवेशन रोक्न लागिरहेका पनि देखिन्छन् । त्यस्तै, हामीलाई महाधिवेशन गर्न भनेर पार्टीले तोकेको समय पनि अपुग भयो ।

यही विषयलाई लिएर केही नेताले राजीनामा बझाउनुभएको विषयलाई कसरी बुझ्ने ? 
पहिलो कुरा, नेविसंघको केन्द्रीय कार्यसमितिमा कसैले राजीनामा बुझाएकै छैन । केही निर्वाचनमा विश्वाश नगर्ने र टीका लगाएर नेतृत्वमा जान चाहना राख्ने व्यक्तिहरुले पार्टीका नेताहरुकहाँ त्यस्ता पत्र बुझाउनुको कुनै अर्थ छैन । म संगठनको महामन्त्री हुँ, नेविसंघमा कसैले राजीनामा दिएको थाहा छैन । केही टिकेप्रथामा मोह भएका साथीहरुले संगठनमा विवाद देखाउन मात्र खोजेका हुन् । साथीहरुलाई आफूले राजीनामा दिने ठाउँ कहाँ हो ? पहिले त्यो थाहा पाउन आग्रह गर्दछु ।

तर महाधिवेशन हुन्छ कि हुँदैन वा कहिले हुन्छ, भन्ने प्रश्न त उठिरहने भयो नि ?
तपाईंलाइ आज म प्रष्ट भन्छु कि, नेविसंघको महाधिवेशन अबको ३ महिनाभित्र हुन्छ । केही साथीहरु अहिले स्ववियु चुनावको संघारमा आएर वर्तमान कमिटी भंग गरेर नयाँ कमिटी टीका लगाएर ल्याउनुपर्ने भन्दै विभिन्न गतिविधि गरिरहेका छन् । तर चुनावको मुखमा अब अधिवेशन गर्ने वा कमिटी पुनर्गठन गर्ने दुवै कुरा सम्भव छैन । तर यदि यही बीचमा ३२ वर्ष माथिका व्यक्तिहरु राखेर नयाँ कमिटी ल्याउने षड्यन्त्र गरियो भने मैले अर्को समानान्तर कमिटी निर्माण गर्छु । यसर्थ हामीले आउँदो वैशाखमा अधिवेशन गर्ने गरी तयारी गर्नुपर्छ । त्यतिबेला चाहिं कुनै हालतमा अधिवेशन रोकिँदैन ।

प्रसंग बदलौँ, नेविसंघले स्ववियु निर्वाचनको तयारी कसरी गरिरहेको छ ? 
हामीले यो पटक हरेक क्याम्पसमा विद्यार्थीबीचमा संगठनका एजेण्डा बोकेर वास्तविक कार्यकर्तालाई अन्याय नहुुने गरी निकै सर्वसहमतिका आधारमा उम्मेदवार चयन गर्छौँ । लोकतन्त्रमा विश्वास राख्ने संगठन भएकाले हामीले स्ववियु निर्वाचनको घोषणालाई निकै सकारात्मक रुपमा लिएका छौँ । स्ववियुमै केन्द्रित हुनुपर्ने भएका कारण हामीले महाधिवेशन नै चुनावपछि गर्ने मनस्थिति बनाएका हौँ ।

स्ववियु निर्वाचनका लागी एजेण्डाहरु के छन् ? 
हामीले खासगरी शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा ल्याइने कुरा उठाइरहेका छौँ । हाम्रो मुख्य एजेण्डा नेपाली युवा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न राज्यलाई दबाब दिने र समाजका विकृति र विस्ांगति हल गर्ने नै हो । त्यस्तै, शैक्षिक बेरोजगारी अन्त्य, युवालाई स्वरोजगारी सिर्जना र मूलभूतरुपमा वैज्ञानिक शिक्षाको आवश्यकतामा हामीले जोड दिइरहेका छौँ । सबैभन्दा धेरै भ्रष्टाचार हुने शिक्षा क्षेत्रको सुधारलगायतका विषय हाम्रो सरोकारका एजेण्डा बन्छन् ।

यसपटकको निर्वाचनमा अखिल र अखिल क्रान्तिकारी मिलेर आउने देखिन्छ, जित्नुहोला त ?
वर्तमान सरकारका काम कारबाही हेर्दा उहाँहरुको एकताले कुनै असर गर्दैन । विद्यार्थी सचेत वर्ग हो । आज उहाँहरुको जनमत हेर्नुहुन्छ भने खस्किरहेको मात्रै देख्नुहुन्छ । हाम्रो जनमत दिनानुदिन बढिरहेको छ । यसकारण हामीले स्ववियु जित्ने कुरामा कुनै शंका नै छैन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस