आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ, अब मदिरा खान्नँ’

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४५४ पाठक संख्या

मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् ।

कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुनुहुन्छ । ‘मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला’, रानाले भन्नुभयो, ‘अब त मदिरा सेवन गर्दिनँ ।’ आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उहाँको भनाइ छ । राना थप्नुहुन्छ, ‘श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।’

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसैननगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहँुदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ ।

नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्नुहुन्छ ‘मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।’

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करीब एक वर्षको अवधिमा ३९ कारवाहीमा परेका छन् । तोकिएको समयभन्दा अन्य समयमा मदिरा सेवन तथा बिक्रीवितरण गर्ने उनीहरुलाई कारवाही गरी जरिवानावापत रु ४५ हजार ५०० राजश्व सङ्कलनसमेत वडाले गरेको छ । कारवाहीमा परेका अन्य ११ बाट अझै रु १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिनुभयो । वडाले चलाएको मदिराविरुद्धको अभियानलाई स्थानीय महिला तथा सरोकारवालाले महत्वपूर्ण साथ दिएको उहाँको भनाइ छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस