आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा इन्फ्लूएञ्जा एच नाइन रोगको महामारी, कुखुरा मर्न थालेपछि कृषक मर्कामा

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ३०२ पाठक संख्या

कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।

रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन सुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । जसमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उनले बताए ।

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उनले बताए । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उनले बताए ।

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उनले बताए । सुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा (प्यारेन्ट) र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि सुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताए ।

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बिमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताउनुभयो । उहाँले भने, “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।’

उनका अनुसार विगत सात÷आठ वर्षयता एच नाइनका कारण बर्सेनि कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उनले बताए ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा बर्सेनि अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताए । उनका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ ।

नेपालका ठूला कुखुरापालक कृषकसमेत रहेका विष्टले भने, ‘हाम्रो मन्त्रालयको अर्कमण्यता र पशुसेवा विभागको बदमासीका कारण कृषकले हरेक वर्ष अर्बौको क्षति व्यहोर्नु परेको छ ।’ विष्टका अनुसार एच नाइन देखिएका कुखुराले उत्पादन नदिने तर दाना खाइरहने हुँदा कृषकले नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन घटेपछि बिक्री भएका सङ्क्रमित कुखुराका कारण रोग झनै फैलिने गरेको उनले बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेल सरकारले खोप भित्र्याउन अनुमति दिएमा यी समस्या हटेर जाने बताउँछन् । देशमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसायमा वर्षौदेखि देखिएको यो रोगका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार गत वर्षभन्दा कम कुखुरा मरेको भए पनि उत्पादन निकै घटेको छ । जसका कारण कृषकले ठूलो क्षति व्यहोरेको उहाँले बताए । प्रयोगशालाका प्रमुख डा चापागार्इंका अनुसार नेपालकै रोग लागेका कुखुराहरुबाट खोप तयार गरेर दिन व्यवसायी तयार रहेको भन्दै सरकारले नीतिगत निर्णय गर्न मात्रै बाँकी रहेको बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा झण्डै रु एक खर्ब लगानी भएको व्यवसायीले बताउँदै आएका छन् ।

narayanionline

प्रतिक्रिया दिनुहोस