आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यसकारण् हुन्छ मुखको क्यान्सर

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४४३ पाठक संख्या

मुखका अंग तथा तन्तुका कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हुनु मुखको क्यान्सर (अर्बुदरोग) हो । कोष वृद्धिका कारण हुने गिर्खा हटाउँदा पनि झन् बढ्नु र घाउ–खटिरा आउनु क्यान्सरका लक्षण हुन् । मुखको क्यान्सर अर्थात् ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भाग र तालुमा घाउ हुने गर्छ ।

बढी कसलाई ?
सामान्यतया महिलाको तुलनामा पुरुषमा मुखको क्यान्सर बढी देखिने गरेको छ । जुनसुकै उमेरका मानिसमा मुखको क्यान्सर हुन सक्ने भए पनि नेपालको सन्दर्भमा धेरैजसो क्यान्सरपीडित ४० वर्षमाथिका उमेरका व्यक्ति भएको पाइन्छ ।
कारण
– मुखको क्यान्सर हुनुका विभिन्न कारण छन् । जसमध्ये पनि धूम्रपान र मद्यपान सेवन यसका मुख्य कारण हुन् ।
– खासगरी, निकोटिनयुक्त पदार्थ सेवन गर्ने मानिसमा मुखको  क्यान्सर भएको पाइन्छ ।
– धुवाँको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थभन्दा पनि मुखमा राखेर खाइने सुर्तीजन्य पदार्थहरू तुलनात्मक रूपमा बढी
हानिकारक हुन्छन् । त्यस्तै, मद्यपान गर्ने मानिसमा पनि मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । अध्ययनअनुसार सुर्तीजन्यसँगै मदिराजन्य पदार्थको सेवन गर्दा १५ प्रतिशत मुखको क्यान्सर हुने सम्भावना थपिन्छ ।
– भाइरसको संक्रमणबाट पनि मुखको क्यान्सर हुने गर्छ । एचपिबी १६ नामक भाइरसका कारण मुखमा संक्रमण भई क्यान्सर हुन्छ ।
– रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
– पोषणको कमी, चोटपटक, मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ ।
– विकिरणका कारणसमेत कतिपय अवस्थामा मुखको क्यान्सर हुन्छ । अल्ट्राभाइलेट, आयोनाइजिङ विकिरण, एक्स–रे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ ।
– वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ । तर, यो ज्यादै कम प्रतिशत मात्र हुन्छ ।
लक्षण 
– मुखका अंगहरूमा घाउ देखा पर्नु, निको नहुनु र दुखिरहनु ।
– कान दुख्ने, स्वरमा परिवर्तन हुनेजस्ता समस्या देखा पर्नु ।
– घाँटीमा गिर्खा पलाउने र घाँटी दुख्नेजस्ता समस्या देखिनु ।
– मुख र गिजामा घाउ आई रक्तश्राव हुने, खाना खान अप्ठयारो हुने, विनाकारण दाँत झर्ने हुन्छ ।
क्यान्सर भइसकेपछि मानिस कमजोर देखिने, रक्तअल्पता हुनेजस्ता अन्य समस्यासमेत देखिन्छन् ।

रोकथाम र उपचार
– सर्वप्रथम त मुखको सरसफाइमा ध्यान दिनुपर्छ । त्यस्तै, धूम्रपान, मध्यपानसँगै सुपारी, पान, गुट्खा पनि सकभर खानुहुँदैन । क्यान्सरका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
– सामान्यतया क्यान्सर चार चरणमा हुने गर्छ । पहिलो चरणको क्यान्सर भएमा शल्यक्रियाको माध्यमबाट यसको उपचार गर्न सकिन्छ । यदि क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकको भए यसको उपचार रेडिएसन र किमोथेरापीको माध्यमले गर्न सकिन्छ ।

naya patrika

प्रतिक्रिया दिनुहोस