आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले काम गरेन भन्नु अन्याय होः मन्त्री विष्ट

AuthorAP Khabar२०७५ फागुन ११, शनिबार (५ साल अघि) ३३५ पाठक संख्या

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले देशको राष्ट्रियताको लागि महत्वपूर्ण काम गरिरहेकाले कोहि–कसैले सरकारले काम गरेन भन्नु अन्याय हुने बताउनुभयो । पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग, मदन भण्डारी राजमार्ग, पानी जहाज, रेललगायतका महत्वपूर्ण योजनाहरु सरकारले अगाडि बढाएकाले सरकारको आलोचना गर्नु पूर्वाग्रही भएको उहाँको आरोप छ ।

जिल्लाको इश्मा गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै उहाँले उर्जाको खपतमार्फत देशमा रोजगार सिर्जना गर्ने पनि जानकारी दिनुभयो । त्यसका साथै कृषि, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका कुराहरुमा नयाँ ढंगले विकास गर्न लागेको उहाँले दाबी गर्नुभयो । ‘हरेक योजनाको आधुनिक र वैज्ञानिक ढंगले व्यवस्थापन गरी दुरगामि हिसाबले विकास गर्ने अठोट लिएका छौँ ।’ उहाँले भन्नुभयो, ‘सरकारले अहिले जग बसालिरहेको छ, केहि समयमै परिणाम आउनेछ ।’ भर्खर मात्र देश संघीयतामा गएको र सरकार गठन भएकोले जनप्रतिनिधीलाई रचनात्मक सुझाव दिन छाडेर आलोचना मात्र गर्नु गलत भएको उनको भनाइ छ ।

मिलेर काम गर्न निर्देशन
गृहजिल्लामा रहेका मन्त्री विष्टले जनप्रनिधी हुनु ज्यादै अप्ठ्यारो विषय भएको बताउनुभएको छ । जनताका हरेक समस्यामा सधै सँगसँगै हुनु नै जनप्रतिनिधीको लागि चुनौतिको विषय भएको उहाँको भनाइ छ । सत्तामा पुग्नु ठुलो विषय नभएको भन्दै उहाँले सत्ताको सदुपयोग गरी जनताका समस्यामा समाधानमा केन्द्रित रहन जनप्रतिनिधीलाई आग्रह गर्नुभयो । ‘त्याग गर्न सिक्नुस, सत्ता मात्रै ठूलो कुरा होइन, जिन्दगी ५ बर्षको मात्र होइन ।’ उहाँले भन्नुभयो, ‘सत्ताबाहिर रहँदा पनि जनताको बीचमा रहनु महत्वपूर्ण विषय हो ।’ अर्को प्रसंगमा मन्त्री विष्टले देशमा आफूहरुले सरकार बनाउनुभन्दा पहिलेको आठ अरबको खाडल रहेकोले त्यसलाई पुर्न लागिपरेको बताउनुभयो ।

‘अघिल्लो सरकारले लगाएको आठ अरबको खाडल पुरा गर्दै छौँ, त्यसैले बजेट कम आएको हो ।’ उहाँले भन्नुभयो, ‘आएको बजेटलाई सदुपयोग गर्नुस् ।’ देश भर्खरै संघीयतामा गएकोले आफूहरुले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने जनाउनुभयो । पहिलो वर्ष कानुन निर्माणको वर्ष भएकोले यो ज्यादै अप्ठ्यारो कार्यकालको वर्ष भएको उहाँको भनाइ छ । यस कार्यकालमा कर्मचारी र जनप्रतिनिधी मिलेर स्थानीय तहमा काम गर्न उहाँले निर्देशन दिनुभयो ।

‘कहि–कतै दुरुपयोग नहोस्, साना विषयमा हाम्रो ध्यान नजान सक्छ ।’ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई सजक बनाउँदै मन्त्री विष्टले भन्नुभयो, ‘यदि त्यस्तो भयो भने विषयले गम्भीर रुप लिन सक्छ ।’ त्यसका साथै इश्मामा प्रत्येक वडामा कम्तिमा एउटा महत्वपूर्ण भौतिक संरचना बनाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस