आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजै किन जर्मनी उड्दै थिए मन्त्री अधिकारी ?

AuthorAP Khabar२०७५ फागुन १६, बिहिबार (५ साल अघि) ३६५ पाठक संख्या

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दुःखद् निधन नभएको भए उनी बिहीबार जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो ।

अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । यसका लागि मन्त्रालयले टिकेटिङ र होटल बुकिङलगायत सबै तयारी पूरा गरिसकेको थियो ।

अधिकारी ताप्लेजुङबाट फर्किएर शनिबारदेखि जर्मनीमा हुने युएनडब्लुटीओमा सहभागी हुन बिहीबार ८:५० बजे कतार एयरलाइन्सको विमानबाट जर्मनी जाने कार्यक्रम भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा हेर्ने सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि मन्त्री अधिकारीसँगै जर्मनी जाने कार्यक्रम थियो ।

मन्त्री अधिकारीको निधनपछि जोशी र उपाध्यायले पनि भ्रमण रद्द गरेका छन् । अधिकारीले सम्मेलनमा नेपालमा पर्वतीय पर्यटनको अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम थियो ।

‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको बारे जानकारी दिने कार्यक्रम थियो,’ सहसचिव उपाध्यायले अनलाइनखबरसँग भने,‘तर, अकल्पनीय घटनाले जर्मनी पुगेर नेपालको पर्यटनबारे विश्व समुदायमाझ महत्वपूर्ण सन्देश दिने उहाँको सपना अधुरै रह्यो ।’

उपाध्यायका अनुसार २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न मन्त्री अधिकारीले यो भ्रमणलाई उपलब्धीमूलक हुने मानेर नै जाने तय गरेका थिए ।

मन्त्री अधिकारीको टोली फागुन २४ गते नेपाल फर्किने कार्यक्रम थियो । उनले बर्लिनमा हुने अर्को एउटा पर्यटन एक्स्पो आईटीबीमा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो, जसमा भाग लिन नेपाली पर्यटन व्यवसायीको टोली जर्मनी पुगिसकेको छ ।

यो एक्सपोलाई विश्वकै अग्रणी पर्यटन एक्सपो मानिन्छ । त्यहाँ पनि उनले नेपालको पर्यटन र पर्यटकीय गतिविधि तथा सम्भाव्यताबारे जानकारी दिने कार्यक्रम थियो ।

जर्मनीबाट फर्कँदा अधिकारीले म्युनिख विमानस्थलको व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम पनि थियो । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख एयरपोर्टलाई दिने निर्णय गरिसकेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

मन्त्री अधिकारीले त्यहाँ म्युनिख एयरपोर्टका अधिकारीहरुलाई भेट्ने र भैरहवा एयरपोर्टको व्यवस्थापनबारे पनि छलफल गर्ने योजना थियो । यही समयमा हुने छलफलका आधारमा भैरहवामा म्युनिख एयरपोर्टलाई भित्र्याउने सम्झौता गर्ने योजना भए पनि त्यो सपना हाललाई अधुरो भएको छ ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस