आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘सगरमाथाको उचाई शिखरमै पुगेर नाप्नू’

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३३९ पाठक संख्या

चैत्र २७ प्रधानमन्त्री केपी ओलीले सगरमाथाको उचाई सही ढंगले नाप्न निर्देशन दिनु भएको छ । उचाई नाप्ने तयारी गरिरहेका नापी विभागका प्राविधिक र र पर्वतारोहण ‘गाइड’सहितको टोलीलाई प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको हो ।

उचाई नाप्न सगरमाथातर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री ओलीले बुधबार बिदाई गर्नुभएको छ । टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा समारोहका साथ माला लगाएर बिदाई गरिएको छ । टोली सगरमाथाको उचाई नाप्न अत्याधुनिक उपकरणसहित त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रधानमन्त्री ओलीले स्वदेशी सर्भेयर प्राविधिक टोलीले मापन गरेको सगरमाथाको आधिकारिक उचाई हुने बताउनु भयो । ‘सगरमाथाको उचाई विदेशका विभिन्न टोलीले विभिन्न पटक मापन गरे, त्यसरी नाप्दा उचाईसमेत फरक- फरक समेत आयो’ उहाँले भन्नुभयो, ‘उचाई नाप्न अब नेपाली टोली खटेको छ ,अब उप्रान्त यही टोलीले नापेको उचाई नै आधिकारिक मानिनेछ ।’

प्रधानमन्त्रीले टोलीलाई सगरमाथा यात्रा सजकताका साथ गर्न सुझाव दिनुभयो । ‘शिखरमै पुगेर स्केल राख्नु होला’ उहाँले भन्नुभयो, ‘जोखिम यात्रा गर्दै हुनुहुन्छ स्वास्थ्य र मौसमको ख्याल गर्नुहोला । मौसम प्रतिकूलता आइलागे अभियान त्याग्नु पर्ने अवस्थासमेत आउँछ । बिदाई समारोह पश्चात सगरमाथा मापन सर्भेयर टोली गन्तव्य तर्फ प्रस्थान गरेका छन् ।

सगरमाथा मापन गर्ने सर्भेयर टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरी सर्भेयर टोलीलाई सघाउन छिरिङ जाङवु शेर्पा र पेमा हिमा शेर्पासहित ६ जनाको पवर्तारोही प्राविधिक टोली पनि परिचालन गरिएको छ । टोलीले ५० दिनमा सगरमाथाको उचाई मापन गर्ने र तथ्याङ्क विश्लेषण गर्न १० दिन लाग्ने बताएको छ ।

सगरमाथाको उचाई यसअघि ५ पटक मापन गरिएको थियो । भारतले सन् १८४९ र सन् १९५४ मा उचाई मापन गरेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर कायम गरिएको थियो । त्यसैगरी चीनले २ पटक र इटालीले १ पटक सगरमाथाको उचाई मापन गरेको थियो ।

पछिल्लो पटक सन् २००५ मा अमेरिकाले गरेको मापनले सगरमाथाको उचाई बढेर ८ हजार ८ सय ५० मिटर पुगेको बताएको थियो । २०७२ को भूकम्पपछि सगरमाथाको उचाई घटेको निराधार हल्ला चलेपछि भारतले पुन मापन गर्ने प्रस्ताव गरेको थियो । सगरमाथाको उचाई नेपाल आफैले मापन गर्ने भन्दै तर परराष्ट्र मन्त्रालयले स्वीकृति दिएन ।

janta samachar

प्रतिक्रिया दिनुहोस