आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लिबियाबाट नेपाली सेना फर्काउन सरकारले लेख्यो पत्र

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ५०८ पाठक संख्या

चैत २७  सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ । विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।

‘परिस्थितिको आकलन गरेर सरकारको तहबाट राष्ट्रसंघीय निकायलाई पत्राचार भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले नयाँ पत्रिकासँग भने । त्यहाँ रहेका राष्ट्रसंघीय कार्यालय अधिकारीहरू छिमेकी देश ट्युनिसिया पुगेका छन् । नेपाली सैनिकले त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन कार्यालय र विशेष प्रतिनिधिको सुरक्षा गरिरहेका छन् । नेपाली सैनिकलाई विद्रोही सैनिकबाट सुरक्षा खतरा रहेको सेनाको विश्लेषण छ ।

‘विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाइ जोन’ घोषणा गरेका छन् । तर, ट्युनिसिया जाने सडकमार्ग बन्द भएको छैन,’ सैनिक प्रवक्ता ढकालले भने, ‘त्यहाँको युएन मिसनका केही स्टाफलाई सडकमार्गबाट ट्युनिसिया पुर्‍याउन थालिएको छ । तर, हाम्रा सैनिक मिसन हेडक्वार्टर र कार्यरत स्टाफको सुरक्षामा त्यहीँ खटिएका छन् ।’ मिसनमा दुई सय ३१ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । उनीहरू सबै सुरक्षित रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

लिबियाको शान्तिका विषयमा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस र विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेन्गाजीमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । २२ चैतमा वार्ता निष्कर्षविहीन भएसँगै विद्रोही नेता खलिफाले आफ्नो समूहलाई सरकारविरुद्ध हमला गर्न आदेश दिएका छन् । सैनिक प्रवक्ता ढकालले नेपाली सैनिकले अर्को आदेश नभएसम्म तोकिएको जिम्मेवारी निर्वाह गरिरहने बताए ।

nayapatrika

प्रतिक्रिया दिनुहोस