आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निगमको उडान रद्द घटना : ६ कर्मचारीलाई कारबाही सिफारिस

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४०० पाठक संख्या

चैत ३० गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ । त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए ।

व्यक्तिविशेषको आदेशका भरमा काम हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा लिखित रूपमा समस्या समाधान गर्ने विधि विकास गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाब दिइएको छ । समितिले धावनमार्ग बन्द गर्नेबारे हवाई सेवा प्रदायक कम्पनीलाई दिइएको सूचना ‘नोटम’ कार्यान्वयन सबै कर्मचारीबाट समान रूपमा हुनुपर्ने सुझाब पनि दिएको छ । प्रतिवेदनमा यात्रु भरेर उडानका लागि ठिक्क परेको अन्तर्राष्ट्रिय विमानलाई काममा बाधा नपर्ने गरी समन्वय गरेर सकेसम्म उडाउनेतर्फ ध्यान दिन पनि सुझाब दिइएको छ ।

के भएको थियो त्यस दिन ?
१९ चैतको राति १० बजे नेपाल वायुसेवा निगमको जहाज दुबई जान यात्रु भरेर ठिक्क परेको थियो । जहाजका क्याप्टेनले ४ मिनेट समय थप दिन अनुमति मागेका थिए । तर, टावरले धावनमार्ग मर्मतका लागि भन्दै १० बजेपछि उडान अनुमति दिन नसक्ने जनाएर जहाज होल्ड गरिदिए । जहाज होल्ड भएपछि यात्रुलाई जानकारी दिएर होटेलमा राख्नुपर्नेमा निगमका कर्मचारीले केही यात्रुलाई होटेलमा लगे भने केही विमानस्थलमै बस्न बाध्य भए । १९ गते रोकिएको जहाज २० गते बिहान ८ः४५ मा मात्र उडेको थियो । तर, २६ चैतमा भने फ्लाई दुबईको जहाजलाई राति १०ः१७ मा पनि उडान अनुमति दिएको थियो ।

nayapatrika

प्रतिक्रिया दिनुहोस