आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुरुष क्रिकेटमा एपीएफ र प्रदेश पाँच विजयी

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ६२३ पाठक संख्या

बैशाख ९  आठौं राष्ट्रिय पुरुष टी–ट्वन्टी क्रिकेटको समूह ‘ए’ को विजेता बन्दै सशस्त्र प्रहरी बल(एपीएफ) सेमिफाइनल पुगेको छ । आइतबारको खेलमा नेपाल पुलिस क्लबमाथि २ रनको जित निकाल्दै एपीएफ विजेता बनेको हो । पुलिस भने उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अब एपीएफले समूह ‘बी’ को उपविजेता प्रदेश नम्बर १ सँग र उपविजेता पुलिसले समूह ‘बी’ को विजेता नेपाल आर्मीसँग १० गते नेपालगञ्जमा प्रतिस्पर्धा गर्ने छ । आइतबारको अर्को खेलमा प्रदेश पाँचले गण्डकी प्रदेशलाई १५ रनले पराजित गरेको छ । जित निकाले पनि प्रदेश पाँच अघिल्लो चरणमा पुग्न भने सकेन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको एपीएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनको योगफल बनाएको थियो । प्रदीप ऐरीले ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए । यस्तै, शंकर रानाले २० र अनिल शाहले १६ रन बनाए । बलिङमा पुलिसका जितेन्द्र ऐरीले ४, रामनरेश गिरी र ललितराज वंशीले २–२ तथा आरिफ सेख र सागर ढकालले १–१ विकेट लिए ।

पुलिसले पुरै ओभर खेल्दै ८ विकेट क्षतिमा १ सय १३ रन मात्रै बनायो । उसका लागि आरिफ सेखले २४, दीपेन्द्रसिंह ऐरीले २३ र दिलिप नाथले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा एपीएफका कमलसिंह ऐरी र भुवन कार्कीले २–२ तथा शरद भेषवाकरले १ विकेट लिए । एपीएफका कमलसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश पाँचले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाई १ सय ३ रनको योगफल बनाएको थियो । उसका लागि निश्चल चौधरीले २ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । सुरज दरईले ३ चौका र १ छक्काको मद्दतमा ३४ र शौरभ खनालले ११ रनको योगदान गरे । बलिङमा गण्डकीका करण केसीले ३ दशमलव ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै, किशोर महतो, विपन खत्री र विशाल पौडेलले २–२ विकेट लिए ।

१ सय ४ रनको लक्ष्यसहित जवाफी मैदान उत्रेको गण्डकीले निर्धारित खेलमा ९ विकेट क्षतिमा ८८ रनमा सिमित हुँदै हार व्यहोर्यो । आकाश थापाले २६, गोविन्द प्रधानले १८ र सन्तोष न्यौपानेले १० रन बनाए । गण्डकीलाई सस्तैमा समेट्न खेलका ‘म्यान अफ द म्याच’ समेत रहेका प्रदेश पाँचका विक्रम भुसालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए । यस्तै, संदीप सुनार र कृष्ण कार्कीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस