आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धुलो–धुँवाले स्वास्थ्यमा समस्या निम्त्याएको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३३८ पाठक संख्या

बैशाख १८ इनरुवा । सडकमा धुलो उडेको भन्दै इनरुवा ९ का स्थानीयले सवारी साधन सञ्चालनमा अवरोध गरेका छन् । इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका स्थानीयले सडकमा गुड्ने सवारीका साधनले धुलो उडाएको भन्दै उक्त खण्डमा अवरोध गरेका हुन् ।

कच्ची र जिर्ण सडकले दुर्घटना बढाउँदा समेत सरोकारवालाको ध्यान नपुगेको स्थानीयको आरोप छ । बाटोको विषयमा पटकपटक आवाज उठाइएको बताउने स्थानीयहरु माग सम्बोधनका विषयमा सरोकारवालाले चासो नदिएको बताउँछन् ।

सोही विषयलाई लिएर आक्रोसित बनेका स्थानीयले घर आँगन अगाडिको बाटो नबनाए उक्त खण्डमा सवारी कुद्न नदिने भन्दै सडकमा अवरोध सिर्जना गरेका हुन् ।

उनीहरुले सडकमा गुड्ने दिनहुँको सवारीको चापले उडाएको धुलो र धुँवाले स्वास्थ्यमा समस्या निम्त्याउन थालेको भन्दै दबाबका लागि सडक अवरोध गरिएको बताए । तत्काल सडक मर्मत तथा निर्माण गरिनुपर्ने माग गरेका स्थानीयवासीले बबिया खण्डमा १ घण्टा सडक अवरोध गरेका थिए ।

दक्षिणी भेगका अन्य गाउँपालिकामा जारी बिकास निर्माणकालागि सोही बबिया खण्ड हुँदै मालवाहक सवारीका साधन कुद्दै आएका छन् । दिनहुँ कुद्ने टिपर सहितका अन्य सवारीले धुलो उडाउँदा गाउँघरमा बसिनसक्नु भएको भन्दै तत्काल सडक स्तरोन्नती हुनुपर्ने माग गरिएको बिनोद खनालले बताए । सांकेतिक रुपमा गरिएको बिरोधको वेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम चालिने खनालले बताए ।

अवरोधलाई प्रहरीले हटाउन प्रयास गरेको थियो । सो क्रममा सामान्य विवाद देखिएपनि मागका सम्वन्धमा वडा कार्यालय र नगरपालिकासँग समन्वय कायम गराउने सहमतिपछि स्थानीयले सडकको अवरोध खुलाएका थिए ।

वडाअध्यक्ष वसिर मुद्दिन मन्सुरीले भने आफू काम विशेषले बाहिर रहेकाले सडक अवरोध र वडावासीको असन्तुष्टिको विषयमा पूर्ण जानकारी नभएको बताए । यद्यपि मन्सुरीले वडावासीहरुले सडकको विषय यसअघिबाटै उठाउँदै आएकाले जायज माग सम्बोधनका सवालमा आफु कटिवद्ध रहेको बताए । जिर्ण र धुलाम्यै हुने सडक मर्मत तथा कालोपत्रेका लागि प्रयासरत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस