आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वस्तिका मृत्यु प्रकरणः निष्पक्ष अनुसन्धानको माग गर्दै एक घण्टा चक्काजाम

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ४८२ पाठक संख्या

नेपालगञ्ज, १८ बैशाख । बैशाख १ गते नयाँ बर्षकै दिन स्वस्तिका लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा प्रभावकारी अनुसन्धान नभएको भन्दै स्थानीयले एक घण्टा चक्काजाम गरेका छन् । निष्पक्ष अनुसन्धान नगरेको भन्दै नेपालगञ्जमा प्रहरी–प्रशासनविरुद्ध सडकमा उत्रिएका स्थानीयले एक घण्टासम्म सवारी आवत–जावत बन्द गरेका हुन् । घटना भएदेखि लगातार प्रदर्शनमा उत्रिएका माइती पक्षले निश्पक्ष छानविनको लागि दबाब दिदै आएको छ ।राजनीतिक प्रभावमा परेर प्रहरीले हत्यालाई आत्महत्या ठहर गर्न खोजेको स्वास्तिकाको आफन्तको आरोप छ । पावरमा रहेकाले जे पनि गर्न हुने र गरिब दुःखीको लागि कसैले साथ सहयोग नगरेको भन्दै प्रदर्शन गरिएको राँझाका स्थानीयहरुले बताएका छन् । स्वस्तिकाको न्यायका लागि राज्यले पनि यस विषयमा चासो नदिएको कारण दिन प्रतिदिन महिलाहिंसा र बलात्कार जस्ता घटना बढीरहेको स्थानीय उषा भण्डारीले बताइन् ।

हत्यालाई आत्महत्या बनाउन खोजिएको भन्दै स्थानीयहरु सडकका मात्रा होइन, प्रशासन, जिल्ला प्रहरी र अस्पताल समेत घेराउ गरिने जनाएका छन् । अस्पतालले पनि उल्टो रिपोर्ट देखाएको खण्डमा हामी अस्पताल घेराउ गर्न बाध्य हुने बताएका छन् । हत्या या आत्महत्या देखेरै थाहा हुँदा हुदै पनि घटनालाई लुकाउन खोज्नु राज्यको कमजोरी रहेको स्थानीयहरुको भनाइ छ ।

मृतकका आफन्तले यसअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, सडक आन्दोलन लगायत विभिन्न संघ संस्थामा ज्ञापनपत्र तथा घेराउ, आन्दोलन समेत गरि न्यायको लागि गुहार मागिसकेका छन् । दोषीलाई कानुनी कारबाही नगरिए बैशाख २० गतेपछि सशक्त कदम चाल्ने स्थानीयले चेतावनी दिएका छन् । नयाँ वर्षकै दिन नेपालगञ्ज–१० भृकुटीनगर स्थित घरमा मृत भेटिएकी राँझा माइती भएकी १९ बर्षीया स्वस्तिका लिम्बुका आफन्तहरु निरन्तर प्रदर्शनमा छन् ।

उनीहरुले श्रीमान् मुकेश बुढा क्षेत्रीले नै स्वस्तिकाको हत्या गरेको आरोप लगाउँदै आएका छन् । आशिष भनेर चिनिने मुकेशसँग स्वस्तिकाको गत कात्तिकमा प्रेम विवाह भएको थियो । आरोपित मुकेश अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । १ गते दिउँसो करीब ३ बजे स्वस्तिका पंखामा झुण्डिएको अवस्थामा भेटिएकी घरवालाहरुको भनाइ छ ।

तर, स्वस्तिकाको माइती पक्ष भने यो कुरा स्विकार्दैन । श्रीमान् मुकेशले नै हत्या गरेर आत्महत्या जस्तो देखाउन खोजेको माइतीपक्षको आरोप छ । स्वस्तिकाको शरीरभरी चोटपटक र निलडाम रहेका कारण माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरिरहेको छ । मृत व्यक्तिको शरीर, जिब्रो, आँखा, नङ लगायतका भाग निलो देखिएमा अथवा मुखबाट फिँज निस्किएको अवस्था रहेमा विषको सम्भावनालाई नकार्न सकिँदैन ।

स्वस्तिका लिम्बुको मृत्युको रहस्य भिसेरा परीक्षणपछि मात्र खुल्ने भएको छ । भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा स्वस्तिकाको हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्न लागेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार स्वस्तिकाको मृत्युबारे पोस्टमार्टम रिर्पोटमा स्पष्ट नभएपछि सत्यतथ्य बुझ्न भिसेरा परीक्षण गर्न लागिएको हो ।

उनले भिसेरा परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाइएको बताए । मृत्यु भएको व्यक्तिको विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने पत्ता लगाउन भिसेरा परीक्षण गरिन्छ । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार कसैको संकास्पद मृत्यु भएको खण्डमा पोस्टमार्टमसँगै भिसेरा परीक्षण पनि गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस