आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहामा फस्टाउँदै लागुऔषध कारोबार, एक हप्तामा ४ चार पक्राउ

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ३२८ पाठक संख्या

बैशाख १९ सिरहा : प्रहरीले सिरहाका तीन स्थानबाट एक हप्तामा चारजनालाई लागुऔषधसहित पक्राउ गरेका छन्। उनीहरुलाई भारतीय बजारबाट लागुऔषध खरिद गरी नेपाल ल्याउँदै गर्दा पक्राउ गरेको हो।पारीको बजारहरुमा लागुऔषध सहजै पाउने भएकोले यो कारोबार फस्टाउँदै गएका छन्।खुला सीमानाको फाइदा उठाउँदै तस्करले भित्र्याएको लागुऔषध पहाडी जिल्लामा समेत पुर्‍याउने गरेका छन्।

सोमबार प्रहरीले चेकजाँचको क्रममा लहान-ठाढी सडक खण्ड लहान नगरपालिका- १९ गाढास्थित आँप बगैँचाबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीणकुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुनकुमार महतो रहेको छ।

यादवले स७प९३९१ नम्बरको मोटरसाइकल चलाउँदै र महतोले पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए। उनीहरुको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्पुल र नोफिन २२० एम्पुल बरामद गरेका छन्।

शनिवार(वैशाख १४ गते) सिरहा नगरपालिका १७ स्थित भारतीय सीमा जोडिएकै माडर बजारबाट मिर्चैया नगरपालिका १० का २२ वर्षीय रबिन्द्र कुमार यादव लागुऔषधसहित पक्राउ परे। यादवको साथबाट नाइट्रोभेट २४५ टयाबलेट, नाइट्रोसम ८० टयाबलेट, एसपीएस पाल्कन १६ टयाबलेट, प्याभुन स्पास प्लस ३२ टयाबलेट लागुऔषध र एक थान चाक्कु प्रहरीले बरामद गरेका छ।

मंगलबार (वैशाख १० गते) पनि भारतीय सीमा जोडिएको बरियारपट्टि गाउँपालिका ३ बाट सिन्धुलीको दुधौली नगरपालिका ८ का २४ वर्षीय रमेश महतोलाई लागुऔषधसहित पक्राउ गर्‍यो।उनी भारतीय बजारबाट लागुऔषध खरिद नेपालतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरेको सिरहा प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए।महतोको साथबाट प्रहरीले नोफिन ८० बोतल, डाइजेल्याब ७९ बोतल र फेनारगन ८० बोतल लागुऔषध बरामद गरेका छन्।

यति मात्रै होइन, जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा ७९ वटा लागुऔषध मुद्दामा ८७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सेवनकर्ता र कारोबारी बढी रहेको छ। उनीहरुको साथबाट ८६८ बोतल डाइलेक्स डिसी, करेक्स डेढ दशमलव चार ग्राम, नाइट्रोसन ५७२ ट्याबलेट, ब्राउन सुगर १७ ग्राम, नाइट्रोभेट ४७६३ टयाबलेट, स्पासफोस ५१८३ ट्याबलेट, फेनागरन ११२४ एम्पुल, रेडबिन ३ बोतल लगायत ठूलो परिमाणको लागुऔषध बरामद भएका छन्।

लागुऔषध कारोबारमा सीमापारी देखि पहाडी जिल्लासम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी तथ्याकंले देखाउँछ। लागुऔषधका तस्करले भारतीय बजारबाट खरिद गरी मधेश हुँदै पहाडी जिल्लामा पुर्‍याउने गरेको छ। पहाडी जिल्लामा लागुऔषधको बढी रुपैयाँमा खरिद बिक्री हुने गरेकोले तस्कर यो कारोबार त्यहाँ सम्म पुर्‍याउने गरेका छन्।

पारी(भारत), मधेस र पहाडका युवाहरुको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारीबाट वारीको सहरसम्म पुर्‍याउने। अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्‍याउने र तेस्रो समुह काठमाण्डौं लगायतका ठूला सहरसम्म लागुऔषध पुर्‍याउने गरेको प्रहरी स्रोतको भनाई छ।

पछिल्लो समय उदयपुरको कटारी, गाइघाटदेखि ओखलढुंगासम्मका युवाहरु लागुऔषध सेवन गर्न सीमापारीको बजारसम्म धाउन थालेको प्रहरी रेकर्डबाट देखिन्छ।उनीहरू बन्दिपुरको कमला बाँध हुँदै भारतको सीमावर्ती जयनगर, चोहर्वा-सिरहा-माडर हुँदै भारतको सीमावर्ती जयनगर, लहान-भगवानपुर-ठाढी हुँदै भारतको सीमावर्ती लौकाहा, जिरोमाइल-सुखिपुर-बरियारपट्टी हुँदै भारतको सीमावर्ती लदनीया बजार पुगेर लागूऔषध सेवन गर्ने र बोकेर ल्याउने गरेको पाइएको छ।

अहिले पूर्वपश्चिम राजमार्गदेखि सीमासम्मको सडक पहुँच पुगिसकेकोले पनि उनीहरूलाई भारतीय बजार पस्न सुगम भएको छ। सीमा र राजमार्ग सडक सञ्जालले जोडिएदेखि अटो रिक्सानै रिजर्भ गरेरसमेत उनीहरु सीमापारि पुग्ने गरेको पाइएको छ। मोटरसाइकल र सार्वजनिक सवारीमा भारतीय बजार पुग्नेको संख्या पनि उल्लेख्य देखिन्छ।

सीमा क्षेत्रका एक स्थानीयका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका ती युवाहरूले यहाँको बजारमा कुनै उपभोग्य सामान किनेका हुँदैनन्। ‘वारीका उपभोक्ता (नेपाली) मुख्यतः दैनिक उपभोग्य सामान खरिद गर्नका लागि भारतीय बजार पस्छन्। तर ती युवाहरू भने रित्तै हात पारी पस्छन् र रित्तै हात वारी फर्केको देखिन्छ,’ उनले भने।

प्रहरीका तथ्याकं अनुसार लागुऔषध कारोबारमा बढी युवाहरु लागेका छन्। १८ देखि २५ वर्ष उमेरका युवाहरु बढी पक्राउ परेको प्रहरी प्रवक्ता खरेलले बताए।बेरोजगार रहेका युवाहरु तस्करको प्रलोभनमा परि यस्तो धन्दामा फस्ने गरेको छ।’क्यास कारोबार’ हुने भएकाले यसको सञ्जाल संगठित रुपमै फैलदै गएको सुरक्षा अधिकारीहरू बताउँछन्। प्रहरी एक्लैको प्रयासले लागूऔषधको जग भत्काउन चुनौती छ।यसमा सबै पक्षले सहयोग गर्नुपर्ने प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस