आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनता अवासको कार्यविधि संशोधन माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ३५३ पाठक संख्या

वैशाख २०,

जनकपुर — प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलका सांसदको अवरोध पछि स्थगित भएको छ । जनता अवास कार्यक्रमको कार्यविधि संशोधनको माग गर्दै विपक्षी कांग्रेस र नेकपाका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

उपसभामुख उपमा देवले शुक्रबार प्रदेशसभा बैठकको सुरु गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने बताएका थिए।

पटक-पटक स्थगित पछि शुक्रबार ११ बजे बोलाइएको बैठक १ बजेर ३० मिनेटमा सुरु हुनासाथ कांग्रेस सचेतक कुशवाहाले सरकारका मन्त्रीहरुले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान कायम राखेका थिए। कुशवाहाले जनता अवास कार्यक्रमको कार्यविधि संशोधन गरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए।

बैठकमा नेकपाकी सांसद ज्वाला साहले मन्त्रीले बजेट र योजना बाँडफाँडमा गरेको लापरवाहीको आलोचना गर्दै सहिदहरु बीच भेदभाव गर्न नहुने बताइन्। सांसद साहले पनि जनता अवास कार्यविधि सुधार नभएसम्म बैठक चल्न नदिने बताइन्।

सचेतक कुशवाहा र सांसद साहले बोलेपछि दुवै दलका सांसद उभिएर बैठक अवरुद्ध गरेका थिए। उपसभामुख देवले पटक-पटक बस्न आग्रह गरे पनि सांसदहरुले नमानेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित गरिएको हो।

प्रदेश सभामा सरकारकोतर्फबाट जवाफ दिन पुगेका मुख्यमन्त्री लालबाबु राउत बैठकमा सहभागी नै नभएर फर्किएका थिए। कार्य व्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलका सांसदले बैठक अवरुद्ध गर्ने भएपछि मुख्यमन्त्री राउत बैठकमा सहभागी नभएर फर्किएका थिए।

विपक्षी दलले जनता अवास कार्यविधि संशोधन, सहिदसँग सम्मान व्यवहार र वीरगञ्जस्थित बीपी उद्यानमा प्रदेश सरकारले बनाउन लागेको सहिद पार्क फिर्ता लिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस