आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा वैचारिक कार्यदिशाको विवादः घोचपेचमै उत्रिए दाहाल र पोखरेल

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (५ साल अघि) २७७ पाठक संख्या

जेठ २

एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ ।

आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ । नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए ।

पार्टी सञ्चालन शैलीप्रति आन्तरिक रूपमा असहमति राख्दै आएका उपप्रधानमन्त्री पोखरेलले बुधबार सार्वजनिक मञ्चबाटै वैचारिक रूपमा पार्टी स्पष्ट नहुने हो भने तासको महलझैं ढल्न सक्ने चेतावनी दिए ।

वैचारिक रूपमा स्पष्ट नभएको पार्टीले कार्यभार पूरा गर्न नसक्ने उल्लेख गर्दै पोखरेलले झन्डै आधा घण्टा निकै आक्रामक अभिव्यक्ति दिएपछि अध्यक्ष दाहालले झन्डै १५ मिनेटसम्म त्यसको जवाफ दिए । वैचारिक आधारबिनै पार्टी एकता भयो र कुनै राजनीतिक दिशा छैन भन्ने भ्रम नपाल्न उनले आग्रह गरे ।

झन्डै तीन घण्टा चलेको कार्यक्रममा मुख्य वैचारिक विवाद दाहाल र पोखरेलबीच भए पनि पार्टी अस्पष्ट रहेको विषयमा वरिष्ठ नेता माधव नेपालले पनि कुरा उठाए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले दुवै पार्टीले तय गरेको इतिहासको जगमा अब नयाँ वैचारिक बहस अघि बढाउनुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि बहस केन्द्रित हुनुपर्ने धारणा राखे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस