आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भाजपाका कार्यकर्ताको गोली हानी हत्या

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) २९० पाठक संख्या

जेठ १२

भारतको अमेठीमा भारतीय जनता पार्टी (भाजपा)का एक कार्यकर्ताको गोली हानी हत्या गरिएको छ । अमेठीको बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको आइतबार बिहान ३ बजे गोली हानी हत्या गरिएको हो। उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

भारतीय लोकसभाको निर्वाचनको नतिजा लगत्तै सिंहको हत्या भएको हो। हत्या गरिएका सिंह त्यस क्षेत्रबाट विजयी सांसद स्मृति इरानीका एकदमै निकट व्यक्ति भएको बताइएको छ। भारतीय समाचार माध्यमका अनुसार हत्यापछि यस विषयमा कांग्रेस र भाजपाका मानिसबीच झडप पनि भएको छ । सांसद इरानी अहिले मृतकका आफ्न्तलाई भेट्न लखनउ जाने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृतक सिंहका परिवारले उनको हत्या कांग्रेसले गराएको आरोप लगाएका छन्। सो क्षेत्रबाट कांग्रेसका अध्यक्ष राहुल गान्धी पराजित भएका थिए। परिवारले पराजितको बदला लिन कांग्रेसले उनको हत्या गरेको आरोप लगाएका छन् । स्मृतिको चुनाव प्रचारमा सिंहले उल्लेखनीय भूमिका निर्वाह भूमिका निर्वाह गरेका थिए । बरौलिया गाउँका पूर्व प्रधान भएका कारण त्यस आसपासका गाउँमा पनि उनको राम्रै प्रभाव रहेको र त्यसको प्रभाव चुनावमा परेको बताइएको छ ।

घटना हुने समय सिंह घरबाहिर सुतिरहेका थिए । त्यही समयमा मोटरसाइकलमा आएको एक समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अमेठीका एसपीले भनेका छन्, ‘सुरेन्द्र सिंहको राति ३ बजे गोली हानी हत्या गरिएको छ। हामीले आशंकामा परेका केही व्यक्तिलाई गिरफ्तार गरेका छौँ। हत्याको कारण पुरानो दुस्मनी वा राजनीतिक दुवै हुनसक्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस