आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि अष्ट्रेलियाको सहज जित

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ३८४ पाठक संख्या

जेठ १९

विश्वकप क्रिकेटमा विश्वविजेता टिम अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार राति इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका म्याक्सवेलले पहिलो बलमै मुजिव उर रहमानलाई चौका हान्दै खेल सकाए । अष्ट्रेलियालाई सहज जित दिलाउन ओपनर डेविड वार्नरले १ सय १४ बलमा ८ चौका सहित ८९ रनमा अविजित रहे । १७ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले बोल्ड आउट गनु अघि कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको योगदान दिए । वार्नर र फिन्चले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

२५ ओभरको अन्तिम बलमा उस्मान खवाजालाई राशिद खानले १५ रनमा एलवी डब्लू आउट गरे । स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए । अफगानिस्तानका लागि मुजिव उर रहमानले २ र राशिद खानले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१, रहमत साहले ४३, कप्तान गुल्बदिन नाइबले ३१ र राशिद खानले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पा र पट कुमिन्सले समान ३/३ विकेट लिए । दुई विकेट भने मार्कुस स्टोनिसको नाममा रहृयो ।

प्रतिक्रिया दिनुहोस