आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय विश्वकप क्रिकेटमा आजको बंगलादेश र दक्षिण अफ्रिकाको

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ३३२ पाठक संख्या

जेठ १९

एजेन्सी
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण एसियाली टोली बंगलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । दी ओभल मैदानमा साँझ सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्ने दावी गरिरहेका छन् ।

दक्षिण अफ्रिका उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो । पहिलो खेलको हारले पनि दक्षिण अफ्रिकामाथि बंगलादेशलाई हराउनु पर्ने दबाब थपिएको छ । बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर विश्वकपमा सुखद सुरुवात गर्ने अभियानमा छ ।

यी दुवै टोलीले अहिले सम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् । दक्षिण अफ्रिका सन् १९९२ मा सम्पन्न पाँचौं संस्करणदेखि विश्वकपमा सहभागी भएको हो । तर अहिले सम्म फाइनलमा पुग्न सकेको छैन । पहिलो खेलमा आयोजकसँग हार खेपेकाले बंगलादेशसँगको खेललाई दक्षिण अफ्रिकाले निकै महत्व दिएको छ । विश्वकपअघि दक्षिण अफ्रिकाले दक्षिण एसियाली अर्को टोली श्रीलंकालाई अभ्यास खेलमा ८७ रनले हराएको थियो ।

यसैगरी बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । सन् १९९९ देखि विश्वकपमा प्रवेश गरेको बंगलादेशको यो छैटौं सहभागिता हो । विश्वकपमा बंगलादेशको प्रदर्शन त्यति सन्तोषजनक छैन । बंगलादेश सन् २००७ र २०१५ मा सुपर आठमा प्रवेश गरेको थियो । बंगलादेश टोलीमा अहिले अनुभवी खेलाडीको वर्चस्व छ । मुस्फिकर रहिम प्रभावशाली खेलाडी हुन् ।

तीनवटा एकदिवसीय विश्वकप खेलिसकेका अनुभवी रहिमको ब्याटिङ बंगाली टोलीका लागि वरदान हुनेछ । सकिब अल हसनको उपस्थितिले पनि टोली थप बलियो देखिएको छ । मश्रफे मोर्तजाको कप्तानीमा रहेको बंगाली टोलीमा तमिम इकबाल, लिटन दास, सौम्य सरकार, मुस्फिकुर रहिम, महमुदुल्लाह रियाद, सकिब अल हसन, मोहम्मद मिथुन, सब्बिर रहमान जस्ता अनुभवी खेलाडी छन् ।

बंगलादेशले विश्वकपअघि वेस्ट इन्डिज र आयरल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला जितेको थियो । अभ्यास खेलमा भने बंगलादेश पाकिस्तानसँग आठ विकेट र भारतसँग ९५ रनले पराजित भएको थियो ।

यद्यपि दक्षिण अफ्रिकासँगको विगत बंगलादेशको त्यति राम्रो छैन । यसअघि दुई देशबीच २० वटा एकदिवसीय खेल भएको छ । जसमा दक्षिण अफ्रिका बलियो देखिएको छ । दक्षिण अफ्रिकाले १७ खेल जितेको छ भने बंगलादेशले तीन खेल मात्र जितेको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार बलिङ हो । तीव्र गतिका बलर कागिसो राबडा र लुन्गी निग्दीबाट दक्षिण अफ्रिकाले यस विश्वकपमा ठूलो आश गरेको छ ।

प्रतिक्रिया दिनुहोस