आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घर र गाडी किन्न आम्दानीअनुसार ऋण

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) २८२ पाठक संख्या

श्रावण ९

नेपाल राष्ट्र बैंकले अब घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आकलन गरेर राष्ट्र बैंकले सीमा तोक्नेछ । मौद्रिक नीतिमा भएको यो व्यवस्था कार्यान्वनयका लागि चाँडैनै सर्कुलर जारी गरिने उनले जानकारी दिए ।

घर वा गाडी खरिदका लागि कर्जा दिँदा व्यक्तिले मासिक आम्दानीको कति प्रतिशत किस्ता तिर्न सक्छ सोही अनुपातमा मात्रै ऋण दिन सकिने प्रवक्ता निरौलाले जानकारी दिए । ‘कसैले वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्छ भने उसले आफ्नो खर्च कटाएर कति रकम किस्ता तिर्न सक्छ त्यसको सीमा राष्ट्र बैंकले तोकिदिन्छ,’ उनले भने, ‘व्यक्तिको आम्दानीमा कर, व्यक्तिगत खर्च कटाएर उसले तिर्न सक्ने रकमको सीमा ताकिन्छ ।’
‘व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात को अधिकतम सीमा कायम गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी ५० लाख वा सोभन्दा बढी ऋण प्रवाह गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यो सीमा पहिले १ करोड रुपैयाँ थियो । सरकाले बजेटमार्फत १ हजारभन्दा बढी भुक्तानी गर्दा अनिवार्य प्यान नम्बर आवश्यक पर्ने व्यवस्था गरेको थियो । नागरिकसँग रहेको सुन बैंकमा निक्षेपका रूपमा जम्मा गर्न सक्ने विषयमा नीतिगत व्यवस्था गरिने नीतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस