आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाका सबै तहका कमिटी गठनमा यस्ता–यस्ता विवाद

AuthorAP Khabar२०७६ श्रावण १०, शुक्रबार (४ साल अघि) ३०५ पाठक संख्या

श्रावन १० काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार ५ गते ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज तथा सहइन्चार्ज तोक्यो । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको थियो । तर अन्य सङ्गठन जस्तै यो पनि विवाद रहित हुन सकेन । त्यसो त नेकपाले पूर्वएमाले र पूर्वमाओवादीबीच सहमतिका आधारमा जिम्मेवारी तोके पनि विवाद रहित कमिटी बनाउन सकेन । नेकपामा विवाद र असन्तुष्टि तब आउन थाले जब सचिवालय टिमको घोषणा भयो । त्यस यता गठन भएका कमिटी गठनमा विवाद र असन्तुष्टिका शृङ्खला रोकिएका छैनन् । बरु अहिले विभागको भागबन्डामा आउँदा झनै ठूलो विवाद सिर्जना भएको छ ।

कुन कमिटी बनाउँदा कसको असन्तुष्टि ?

जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्दा असन्तुष्टि

केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने गरी पछिल्लो पटक जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकिएपछि नेकपाका केही नेताको असन्तुष्टि आयो । वरिष्ठताको मापदण्ड तोडेर जुनियर मातहत सिनियर नेताहरूलाई राखिएको भन्दै केही नेताहरुले जिम्मेवारीमा असन्तुष्टि जनाएका छन् ।

जस्तो कि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका अरुण नेपालले पनि जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । उनलाई सिन्धुपाल्चोक जिल्ला सहइन्चार्जको जिम्मेवारी तोकिएको थियो । त्यहाँ कृष्णप्रसाद सापकोटाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । नेपालले आफू घटुवामा परेको भन्दै असन्तुष्टि जनाएका छन् । उनी सिन्धुपाल्चोकको सहइन्चार्ज तोकिएका छन् ।

त्यसैगरी डडेलधुरा इन्चार्ज तोकिएका केन्द्रीय सदस्य खगराज भट्टले जिम्मेवारी अस्वीकार गरेका छन् । उनले जुनियर नेता मातहत आफू जिल्ला इन्चार्जमा बस्न नसक्ने बरु पार्टी केन्द्रीय सदस्यबाटै राजीनामा दिने सन्देश प्रदेश इन्चार्ज र अध्यक्षलाई दिएका छन् । रसुवाको सहइन्चार्जको जिम्मेवारी पाएका माधव अर्यालले पनि असन्तुष्टि पोखेका छन् । उनले बाहिर जिल्लाबाट आफ्नो जिल्लामा इन्चार्ज ल्याइएको भन्दै असन्तुष्टि पोखेका हुन् । त्यहाँ नुवाकोटकी विमला सुवेदीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । यसबाहेक पूर्वी रुकुमको सहइन्चार्जको जिम्मेवारी पाएकी पूर्वमन्त्री कमला रोकाले पनि जिम्मेवारीमा असन्तुष्टि जनाएकी छिन् । रुकुममा खेममान खड्कालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । काठमाडौँको सहइन्चार्जको जिम्मेवारी पाएकी नेतृ अन्जना विशंखेले पनि असन्तुष्टि जनाएकी छिन् । काठमाडौँमा सावित्रा भुसाल इन्चार्ज छिन् । विशंखेसहित कुमार पौडेल, दिलिप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्त मानन्धर मुक्ति नारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर सहइन्चार्ज छन् ।

जिल्ला अध्यक्ष र सचिव तोक्दा असन्तुष्टि

जिल्ला इन्चार्ज तथा सहइन्चाज अगाडि नेकपाले जिल्ला अध्यक्ष र सचिव तोकेको थियो । त्यहाँ पनि केही नेताले असन्तुष्टि राखेका थिए । जस्तै केहीले घटुवा हुनुपरेको आक्रोश व्यक्त गरेका थिए भने कोही सधँै एउटै व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिइएको भन्दै स्वीकार्य नभएको भन्दै खुलेरै असन्तुष्टि राखेका थिए । सिफारिस गरेर पठाएका नामभन्दा अरू व्यक्ति नै नेतृत्वमा आएपछि जिल्लाका नेता अचम्ममा समेत परेका थिए ।

रुपन्देही जिल्ला कमिटीको सचिव चयन भएका दधिराम न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको आक्रोश पोखेका थिए । उनी पूर्वमाओवादीको पोलिटब्युरो, केन्द्रीय सदस्य र रुपन्देही इन्चार्जसमेत भइसकेका हुन् । नेकपाले ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाउँदा केन्द्रीय कमिटीका ६ जना जिल्ला अध्यक्ष र ९ जनालाई जिल्ला सचिवको भूमिका दिएको थियो ।

आफुभन्दा जुनियरको मातहतको जिम्मेवारी दिइएको भन्दै केही जिल्लाका सचिवहरुले उक्त पद नलिने घोषणा नै गरे । उनीहरुले खुलेरै असन्तुष्टि जनाएपछि नेतृत्वलाई उनीहरुको जिम्मेवारी हेरफेर गर्ने दबाबनै पर्यो । साउन ५ गतेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाउँदा घटुवामा परेका ती नेताको जिम्मेवारी पनि हेरफेर गर्यो ।

अर्थात अहिले जिल्ला कमिटीको सचिवमा घटुवा भएका नेताहरुलाई सम्बन्धित जिल्लाको इन्चार्ज र एक जनालाई सहइन्चार्ज तोकिएको छ । त्यसपछि खाली रहेको सचिव पदमा कसलाई ल्याउने भन्ने विवाद सबै जिल्लामा सुरु भएको छ । केन्द्रीय सदस्यबाट सचिवमा घटुवा भएकामध्ये तत्कालीन माओवादीतर्फका युवराज भट्टराई (रौतहट), गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), श्रवण यादव (धनुषा), शालिकराम जम्मकट्टेल (धादिङ) लगायतका केही जिल्लाले जिल्ला सचिवको जिम्मेवारी पाएका थिए ।

प्रदेश इन्चार्ज तोक्दा असन्तुष्टि

गत असोज ५ मा बसेको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश सङ्गठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको थियो । उक्त निर्णयपछि धेरै नेता असन्तुष्ट बने । बैठकले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाएको थियो । त्यतिबेला सचिवालयका वरिष्ठ नेता नेपाल दक्षिण अफ्रिका र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा थिए ।

सचिवालयका दुई सदस्यको अनुपस्थितिमा निर्णय गरिएको भन्दै नेता नेपाल र उनी निकटका अन्य नेताहरूको असन्तुष्टि छरपष्ट बाहिर आयो । नेकपाले त्यसअघि सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने निर्णय गरेको थियो ।

साउन २४ मा बसेको सचिवालय बैठकले साङ्गठनिक एकीकरणका लागि सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभामा प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, जिल्ला समन्वय समितिका संयोजक÷सहसंयोजक तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव) पदको जिम्मेवारी नदिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले प्रदेश ४ र प्रदेश ५ मा मुख्यमन्त्रीलाई पार्टी इन्चार्ज तोकेपछि यो निर्णयको चर्को विरोध र असन्तुष्टि बाहिर आए । यही निर्णयलाई लिएर नेता नेपालले नेकपामा पहिलो पटक ‘नोट अफ डिसेन्ट’ लेखे । असन्तुष्टि त्यतिमा मात्र सीमित भएन उनले स्थायी कमिटीका छुट्टै नेताहरुको भेलासमेत गरे । त्यतिबेला आफैले बनाएको मापदण्ड मिचेको भनेर पार्टीभित्रबाटै अध्यक्षद्वयको आलोचना भयो । प्रदेश कमिटीको यो निर्णयपछि अन्य कमिटी एकीकरण पनि यो मापदण्ड लागू भएन । त्यो विवादले नेकपामा लामो समय एकीकरणका काम अगाडि बढ्न सकेनन् ।

केन्द्रीय सदस्य बनाउँदा असन्तुष्टि

नेकपाले पार्टी एकता घोषणालगत्तै गठन गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा नपरेको र गुटगट स्वार्थ हेरेको भन्दै तत्कालीन दुवै पार्टीका नेताहरुले असन्तुष्टि जनाए । मुख्यतः तत्कालीन माओवादीका ८७ जना पोलिटब्युरो सदस्यले एकीकृत पार्टीको केन्द्रीय कमिटीप्रति फरक मत राख्दै प्रचण्डलाई ज्ञापनपत्र नै बुझाए । ८७ जना केन्द्रीय सदस्यले बुझाएको फरक मतमा दुई पार्टीबीचको एकता प्रक्रियामा तत्कालीन माओवादी केन्द्रका तर्फबाट केन्द्रीय समिति सदस्यहरू छनौट गर्दाको विधि र प्रक्रियाप्रति उनीहरुको गम्भीर असहमति रहेको कुरा उल्लेख थियो । त्यस्तै महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, मजदुर, सहिद तथा बेपत्ता परिवार एवम् घाइते तथा अपाङ्गहरुको समुचित प्रतिनिधित्व नगाराइएको, जिल्लागत सन्तुलन नमिलाइएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने नेताहरुलाई केन्द्रीय कमिटीमा समेट्न छुट्याइएको भन्दै उनीहरुले गम्भीर असहमति राखेका थिए । त्यस्तै अन्य नेताहरुले पनि सामाजिक सञ्जाल, औपचारिक कार्यक्रममै असन्तुष्टि जनाएका थिए । तत्कालीन माओवादीमा जस्तो विवाद तत्कालीन एमालेमा भने देखिएन । त्यसबाहेक केन्द्रीय कमिटीमा पार्टी विधानले उल्लेख गरेबमोजिम महिलाको कोटा नपुर्याएको भन्दै पार्टीभित्रैबाट नेतृत्वको चर्को आलोचना भएको थियो ।

स्थायी समिति बनाउँदा असन्तुष्टि

तत्कालीन एमाले र माओवादी केन्द्रमा रहँदा पाएको स्थानभन्दा तल पारिएको भन्दै उनीहरूले आफूले पाएको जिम्मेवारीसमेत लिन मानेन् भने कतिपयले बैठक नै बहिष्कार गरेर असन्तुष्टि जनाए । ४५ सदस्यीय स्थायी कमिटी गठनपछि आमन्त्रित सदस्य राखिएको भन्दै तत्कालीन एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले चर्को असन्तुष्ट जनाए । आफूलाई अपमान हुने गरी जिम्मेवारी दिएको उनको गुनासो रहँदै आएको छ ।

त्यसबाहेक नेता अमिक शेरचन पनि नेतृत्वसँग सन्तुष्ट देखिएका छैनन् । स्थायी समितिमा पदेन सदस्य नबनाइएको भन्दै उनले पनि असन्तुष्टि जनाउँदै आएका छन् । अहिले यी नेताहरु आयोगको प्रमुखमा दाबी गरेका छन् । त्यस्तै तत्कालीन माओवादीका नेता हितमान शाक्य स्थायी कमिटीमा नपरेको भन्दै नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । शाक्य तत्कालीन माओवादी केन्द्रमा विद्यार्थीको फ््रयाक्सन इन्चार्ज थिए । स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ नेता छन् ।

सचिवालय गठनमा पनि असन्तुष्टि

जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा नौ सदस्यीय केन्द्रीय सचिवालय रहने निर्णय भएको थियो । तत्कालीन एमालेबाट छ र तत्कालीन माओवादीबाट तीन जना सदस्य राखेर सचिवालय बन्यो । अध्यक्षद्वयको निर्णयमा सचिवालय बनेको थियो । नौ सदस्यीय सचिवालयमा एक जना पनि महिला अट्न सकेनन् । जसको अहिले पनि आलोचना हुँदै आएको छ । त्यसबाहेक सचिवालय बनाउँदा तत्कालीन एमालेका नेता भीम रावलको पनि असन्तुष्टि रहँदै आएको छ । पार्टी विधानमा सचिवालयभन्दा निर्णायक स्थायी कमिटी छ । तर स्थायी कमिटीको बैठक नबोलाउने र सचिवालयमा पनि पर्याप्त छलफल नगर्ने भनेर अध्यक्षद्वयको समेत सचिवालय तह र स्थायी कमिटीका नेताहरुले आलोचना गर्दै आएका छन् ।

महासचिवको बनाउने निर्णयमा असन्तुष्टि

पार्टी एकता घोषणा गर्ने दिन महासचिवको दाबेदार मानिएका सचिवालयका सदस्य ईश्वर पोखरेललाई झड्का लाग्यो । महाधिवेशनबाट निर्वाचित महासचिवलाई छाडेर आफूभन्दा तल्लो बरियताका नेतालाई महासचिवको जिम्मेवारी दिएको भन्दै पोखरेल असन्तुष्ट देखिए । अध्यक्षद्वयको निर्णयमा नौवौँ बरियतामा भएका नेता विष्णु पौडेल महासचिव भए । उनको यही असन्तुष्टि अहिले पनि बेलाबेला देखिने गरेको नेकपाकै नेताहरु बताउने गर्छन् । नेता पोख्रेल तत्कालीन एमालेको निर्वाचित महासचिव थिए ।

जनवर्गीय सङ्गठनमा पनि विवाद

युवा तथा विद्यार्थी जस्ता जनवर्गीय सङ्गठनको नेतृत्व चयनमा पनि असन्तुष्टि देखिए । गत जेठ ३ गते पार्टी एकताको दिन पारेर नेकपाले जनवर्गीय सङ्गठनको एकता टुङ्गो लगाएको थियो । तर जनवर्गीय सङ्गठनको संयोजक र सह–संयोजकको नाममा धेरै त्रुटि भएको भन्दै नेताहरुले तीव्र असन्तुष्टि देखाएका थिए ।

जनवर्गीय सङ्गठनको एकतापछि अनेरास्ववियुका सह–संयोजकको जिम्मेवारी पाएका रन्जित तामाङले पार्टीले आफूलाई अन्याय गरेको भन्दै खुलेरै असन्तुष्टि जनाए । तामाङ तत्कालीन माओवादी केन्द्रमा पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएका थिए । प्रधानमन्त्री ओलीको जोडबलमा ऐन महरलाई संयोजक बनाइएको आरोप तत्कालीन एमाले निकटका विद्यार्थी नेताको रहँदै आएको छ । जस्तो कि तत्कालीन अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले पनि असन्तुष्टि जनाएका थिए ।

यस्तै युवा सङ्गठनमा पनि तत्कालीन एमालेका युवा नेताको असन्तुष्टि रहँदै आएको छ । हाल संयोजक बनेका रामप्रसाद सापकोटाप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट रहँदै आएको तत्कालीन एमालेका नेताहरु नै बताउँछन् ।

उता नेतृत्वलाई लिएर विद्यार्थी सङ्गठनमा देखिएका विवाद पछिल्ला दिनमा छरपष्ट देखिन थालेका छन् । जस्तो कि केही दिनअघि अध्यक्ष महरले बोलाएको बैठकमा तत्कालीन माओवादी र वरिष्ठ नेता नेपाल समूहका विद्यार्थी नेताले बहिष्कार गरेका छन् । २२ जनवर्गीय सङ्गठनको भागबन्डा गर्दा तत्कालीन एमालेले १६ र तत्कालीन माओवादीले ६ सङ्गठनको नेतृत्व लिएको छ ।

र, पछिल्लो विवाद विभागको भागबन्डामा

नेकपामा गठन हुन बाँकी विभागमा पनि विवाद छ । सङ्गठन विभागमा वामदेव गौतम र रामबहादुर थापाको दाबी रह्यो । तर अन्तिममा आएर गौतमलाई जिम्मेवारी दिने सहमति बन्यो । यस्तै विदेश विभागमा माधव नेपालको टुङ्गो लाग्यो । तर स्कुल विभागमा सबैभन्दा ठूलो विवाद देखियो । विभागको प्रमुख हुन ईश्वर पोखेरल र नारायणकाजी श्रेष्ठले दाबी पेश गरे । यी दुई नेताको विवादका बीचमा घनश्याम भुसालको पनि दाबी आयो । यस्तै सचिवालयका वरिष्ठ नेता झलनाथ खनालको पनि दाबी आउन थालेको छ । त्यसबाहेक अन्य नेताहरु पनि दाबी पेश गर्न थालेका छन् । पछिल्लो समय स्कुल विभागमा विवाद भएपछि टुङ्गाउने भनिएको नेकपाको एकता प्रक्रिया नै अड्किएको छ । सचिवालय बैठक अनिश्चित भएको छ भने नेताहरु आरोप प्रत्यारोपमा देखिन थालेका छन् । नेकपामा ३२ विभाग रहने व्यवस्था विधानले गरेको छ । जसमा तत्कालीन एमालेले १८ र तत्कालीन माओवादीले १४ विभागको नेतृत्व लिने सहमति अध्यक्षद्वयमा भइसकेको छ । तर स्कुल विभाग भने तत्कालीन कुन समूहले लिने भन्ने कुरा टुङ्गिन सकेको छैन । नेकपामा अझै आयोग, मञ्च, प्रवासलगायतका एकीकरण बाँकी नै छन् ।साभार रातोपाटी

प्रतिक्रिया दिनुहोस