आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चालु आर्थिक बर्षको सुरुमै कर्णालीमा दुई सुत्केरीको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १८, शनिबार (४ साल अघि) ६५६ पाठक संख्या

सुर्खेत, साउन १८ : चालु आर्थिक बर्षको सुरुमै कर्णाली प्रदेशमा दुईजना सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गुमाएका छन् ।बुधबार हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि सर्केगाड गाउँपालिका–४ साँयागाउँकी २० वर्षीया अनरुपा टमटाको मृत्यु भयो । प्रसूतिगृहमा लगिए पनि त्यहाँ उपकरण नहुँदा उनले ज्यान गुमाइन्।

यस्तै साउन १२ गते अत्याधिक रक्तश्रावका कारण कालिकोटमा पनि एकजना सुत्केरीको मृत्यु भएको थियो । नरहरिनाथ गाउँपालिका–४ रुप्साकी ३० वर्षीया देवी सहकारीले पनि टमटाले जस्तै समयमै सेवा नपाउँदा ज्यान गुमाइन् । ९ गते सुत्केरी हुन जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने जनाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको थियो । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

प्रदेशका दुर्गम क्षेत्रमा गुणस्तरीय उपचार सेवा तथा सामग्री र राम्रो अस्पताल जान यातायातको अभावले बर्षेनी सुत्केरी हुन नसकेर, अत्याधिक रक्तश्राब भएर महिलाको मृत्यु हुने गरेको छ । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, रुकुम जिल्लाका दुर्गम क्षेत्रमा तत्काल उद्दारको लागि हेलिकप्टरको विकल्प छैन ।

यसैलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले जोखिममा परेका गर्भवती, सुत्केरी आमा र बच्चाको जीवन रक्षाका लागि आपतकालीन हवाई उद्दार सेवाको लागि बजेट व्यवस्था गर्ने गरेको छ ।

तर यस व्यवस्थाको जानकारी नहुँदा र जानकारी भएपनि बेवास्ता गरिँदा निःशुल्क हवाई सेवा उपयोग हुन सकेको छैन् र गर्भवती महिलाले ज्यान गुमाउने गरेका छन्।

‘दुर्गमका जोखिममा रहेका सुत्केरीहरुकै जीवन रक्षाका लागि भनेर प्रदेश सरकारले फ्रिमा हेलिकप्टर सुविधा प्रदान गरेको छ, तैपनि उनीहरु आफूलाई समस्या परेका बेला जानकारी गरिदिँदैनन्’, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भने ।

यसका लागि गत आर्थिक बर्षमा डेढ करोड रुपैयाँ विनियोजन गरेको सर्कारले यो बर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको छ।प्रदेश सरकारले बेलाबेलामा यस्तो सेवाबारे जानकारी गराउने गरेको भएपनि अति दुर्गममा जानकारी नपुगेको हुनसक्ने मन्त्री रावलले बताए ।

उनले यस्तो सुत्केरीलाई समस्या आउने सम्भावना देखिनेवित्तिकै प्रदेश सामाजिक विकास मन्त्रालयमा खबर गरे उद्दार गरिने बताएका छन् ।

‘मेरै जिल्लामा अस्ति सुत्केरीको मृत्यु भएछ, हामीलाई जानकारी दिएको भए हेलिकप्टर पठाईहाल्थ्यौं,’ उनले भने, ‘यस्तो जानकारी नै नदिनुले सरकारी सेवा नै उपयोग हुन सकेको छैन् ।’

मन्त्री रावलका अनुसार गत आर्थिक वर्षमा कर्णाली प्रदेशका १५ जना सुत्केरीको हेलीकप्टरमार्फत उद्दार गरिएको थियो । ती मध्ये १० जनाको खर्च प्रदेश सरकारले व्यहोरेको थियो भने बाँकी खर्च संघीय सरकारबाट व्यहोरिएको थियो ।

अघिल्लो आर्थिक बर्षमा डेढ करोड रुपैयाँ विनियोजन गरिएकोमा धेरै रकम फ्रिज भएकाले यस बर्ष सुत्केरीको उद्दारका लागि ५० लाखले मात्र पुग्ने अनुमान गरेर छुट्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तो समस्या परेका बेला स्थानीय तहमा समेत खबर गरे उद्दार गर्न सकिने हुम्लाको सर्केगाड गाउँपालिकाका उपप्रमुख जोसी धामीले बताए ।

‘हामीले पनि यस्तो खबर पाएमा हेलिकप्टर व्यवस्था गरिदिन व्यवस्था गरिदिन सक्छौं, खबर आएसम्म हामीले गरिदिएका छौं ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दारसम्बन्धी कार्यविधि २०७५ ले ३४ जिल्लामा पूर्ण रुपमा निःशुल्क हवाई सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

त्यसमा कर्णाली प्रदेशका जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, सल्यान पर्दछन् ।

गत आर्थिक बर्षमा मात्र कर्णाली प्रदेशमा १२ जना सुत्केरीको मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।ती मध्ये ६ जनाको घरमै मृत्यु भएको छ भने ६ जनाको स्वास्थ्य संस्थामा मृत्यु भएको निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले जानकारी दिए ।

सेतोपाति समाचार:

प्रतिक्रिया दिनुहोस