आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुरुषलाई भन्दा महिलालाई किन थोरै दिइन्छ तलब ?

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ४९० पाठक संख्या

भाद्र , ७ : समानता र निष्पक्षताको सामान्य सिद्धान्त के हो भने महिला र पुरुष दुवैले समान आर्थिक अवसर पाउनुपर्छ । तर, लामो एवं निरन्तर आन्दोलन तथा अनेक कानुनहरूका बाबजुद पनि विश्वमा महिला र पुरुषबीचको तलबमा खाडल जारी छ । पुरुषले एक डलर कमाइरहेको समयमा महिलालाई भने औसत ५४ सेन्ट अर्थात् झन्डै आधा मात्र दिइन्छ । ज्यालाको यस अन्तर र अवस्था दरलाई हेर्दा महिला र पुरुषको आम्दानीबीचको अन्तर हटाउन अझै २ सय २ वर्ष लाग्ने विश्व आर्थिक मञ्चले जनाएको छ । आर्थिक विकास तथा सहयोग संगठन (ओइसिडी) को चार्टले विश्वमा सबैतिर यस्तो भेदभाव रहेको देखाउँछ । यस आँकडापछिको सत्यता के हो त ? अमेरिकी अर्थशास्त्री लाउरा टाइसनका अनुसार महिलाका लागि खुला रहेका विकल्पलाई यस नांगो विभेद र विभेदका अन्य जटिल जालाहरूले प्रभावित र सीमित गरिदिन्छन् । उनले ज्यालाको अन्तर वा भेदभाव हुनुमा बालबच्चाको हेरचाह र अभिभावकत्वले पनि काम गरेको औँल्याएकी छिन्, जसका कारण आमा न्यून ज्यालाद्वारा दण्डित भएकी छिन् भने पिताले प्रिमियमसहितको आनन्द उठाइरहेका छन् । बर्कलेको ग्र्याजुएट स्कुलकी प्राध्यापक लाउरा टाइसनसँगको कुराकानीको संक्षेप प्रस्तुत छ:

शिक्षा : महिला र पुरुषको तलब असमान हुनुमा विभिन्न कारक तत्वहरू छन् । शिक्षा आम्दानीको प्रमुख निर्धारक हो । केही समयअघिसम्म महिला र पुरुषबीच शैक्षिक उपलब्धिको स्तरमा भिन्नता थियो । तर, विगत २० वर्षमा महिला र पुरुषबीच शैक्षिक भिन्नता वा शैक्षिकस्तरको असमानता हटाउनमा विश्वले निकै प्रगति गरेको छ । त्यसैले आजको समयमा शैक्षिकस्तरले विशेष गरी समान शैक्षिकस्तरका युवा कामदारबीच लैंगिक आम्दानीको भिन्नतामा नगन्य भूमिका निर्वाह गरेको छ ।

पेसाको भिन्नता : महिलाले पुरुषको भन्दा फरक पेसा रोज्छन् । पेसाअनुसार पनि आम्दानीबीच भिन्नता रहन्छ । पेसागत भिन्नताका कारण आम्दानीमा समेत निकै ठूलो अन्तर निरन्तर चलिरहन्छ । विश्वभर शिक्षकको तलब इन्जिनियरको भन्दा कम हुन्छ । त्यसैले पेसागत छनोटको लैंगिक भिन्नताले आम्दानीमा पनि लैंगिक भिन्नतालाई प्रभावित पारेको हुन्छ । महिला र पुरुषको पेसागत छनोटमा किन भिन्नता हुन्छ ? अनि, उच्च तलब पाइने पेसामा महिलाका पर्याप्त ‘रोल मोडल’ छैनन् । उच्च तलब पाइने पेसामा महिलालाई उच्च पदको जिम्मेवारी नदिई तल्ला पदमा रोजगारी दिनुका साथै उच्च व्यवस्थापन र नेतृत्वदायी भूमिकामा पनि महिलालाई विरलै
स्थान दिइन्छ ।

उद्योग तथा क्षेत्रगत कारण : उद्योग वा आर्थिक गतिविधिका क्षेत्रअनुसार पनि आम्दानीमा असमानता र अन्तर छ । विश्वमा म्यानुफ्याक्चरिङलगायतका अधिक कौशल आवश्यक पर्ने र बढी तलब पाइने क्षेत्रको जागिरमा पुरुषको वर्चस्व छ भने शैक्षिक सेवालगायतका कम तलब पाइने क्षेत्रको रोजगारीमा महिलाको वर्चस्व रहेको छ ।क्षेत्र वा उद्योगका आधारमा हुने लैंगिक भिन्नता विश्वभरि आम्दानीमा हुने लैंगिक भिन्नताका प्रमुख र महत्वपूर्ण आधार हो । त्यसैले आम्दानीमा हुने लैंगिक भिन्नताबारे बुझ्न र त्यसमा कमी ल्याउन पेसा र क्षेत्रका आधारमा रोजगारीमा हुने लैंगिक भिन्नताबारे बुझ्न र त्यसलाई घटाउन आवश्यक छ ।

समानता र निष्पक्षताको सामान्य सिद्धान्त के हो भने महिला र पुरुष दुवैले समान आर्थिक अवसर पाउनुपर्छ । तर, लामो एवं निरन्तर आन्दोलन तथा अनेक कानुनहरूका बाबजुद पनि विश्वमा महिला र पुरुषबीचको तलबमा खाडल जारी छ । पुरुषले एक डलर कमाइरहेको समयमा महिलालाई भने औसत ५४ सेन्ट अर्थात् झन्डै आधा मात्र दिइन्छ ।समय : विश्वमा पुरुषको तुलनामा महिलाले बढी ‘पार्टटाइम’ काम गर्छन् । पूर्णकालीन कामको तुलनामा पार्टटाइम काममा उही पेसा वा क्षेत्रको एउटै काम भए पनि प्रतिघन्टा आम्दानी तथा सामाजिक सुरक्षा र अन्य लाभहरू न्यून हुने गर्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वको कुल पार्टटाइममा महिलाको हिस्सा ५७ प्रतिशत छ र पूर्णकालीन काम तथा पार्टटाइमबीचको औसत तलब अन्तर १० प्रतिशत रहेको छ ।

मातृत्व : मातृत्व पनि ज्याला अन्तरको एउटा प्रमुख कारण हो । महिलाले बच्चा जन्माएको सजाय कम तलब लिएर चुकाइरहेका छन् । महिलाको तलब र उनले जन्माएको बालबच्चाको संख्याबीच नकारात्मक सम्बन्ध देखिएको छ । ओइसिडीको तथ्यांकअनुसार प्रतिबालबच्चा ७ प्रतिशतका दरको महिलाको तलबमा कटौती हुने गरेको देखाउँछ । तर, पिता र बालबच्चाबीच भने सकारात्मक सम्बन्ध रहेको देखिन्छ ।बेतलबी रोजगारी : घरायसी र बालबच्चा हुर्काउने कुरासँग सम्बन्धित थुपै्र काम हुन्छन् । र, आजकाल विकसित औद्योगिक राष्ट्रमा मात्र नभई विश्वका अधिकांश स्थानमा ती कामहरू महिलाले नै गर्ने गरेका छन् । यी काम महिलाले सित्तैमा गर्नुपर्छ, यसबापत उनीहरूलाई कुनै तलब दिइँदैन ।

असमानता निवारणको उपाय : आम्दानीको लैंगिक अन्तर घटाउने क्षेत्रमा चालिनुपर्ने सबैभन्दा महत्वपूर्ण कदम हो, अभिभावकत्वको जिम्मेवारी । यसलाई महिला र पुरुषबीच समान रूपमा बाँडिनुपर्छ । मातृत्व र पितृत्वका लागि ‘पेड प्यारेन्टल लिभ’ नीतिले यस्तो लक्ष्य हासिल गर्न सहयोग गर्छ । यसले बालबच्चाको हुर्काइमा पिताको सहभागिता बढाउँछ र बालबच्चाको स्याहार र घरायसी जिम्मेवारी महिलाको मात्रै हो भन्ने भावनामा कमी ल्याउन पनि सहयोग गर्छ । विभेद, रूढिवादी एवं अन्तरनिहित पक्षपातले अझै पनि महत्वपूर्ण भूमिका खेलेको छ । यो निकै महत्वपूर्ण छ । शैक्षिक प्रभाव, पेसागत प्रभाव, क्षेत्रगत प्रभाव, पार्टटाइम जागिरको प्रभाव र मातृत्व र पितृत्व प्रभावलाई हटाउने हो भने पनि आम्दानीमा लैंगिक भिन्नता रहन्छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस