आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चारदिने भ्रमणमा आउने

AuthorAP Khabar२०७६ कार्तिक २५, सोमबार (४ साल अघि) ३१७ पाठक संख्या

कार्तिक २५काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चारदिने भ्रमणमा आउने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले यसलाई औपचारिक सद्भावना भ्रमण भनेको छ।

मन्त्रालयका अनुसार उनी रिट्रिटका लागि पर्यटकी नगरी पोखरा जानेछन्। फेवा तालमा उनले डुंगा सयर गर्ने कार्यतालिका तय भएको छ। सराङकोट डाँडा उनको रोजाइमा परेको छ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीले औपचारिक स्वागत गर्ने कार्यक्रम छ। त्यहीं अन्य स्वागत कार्यक्रम पनि हुने बताइएको छ।

त्यसका लागि सबै निकायका प्रमुखहरू विमानस्थल पुग्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

हमिदले राष्ट्रपति भण्डारीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीको सम्मानमा भोज आयोजना गर्नेछिन्।

बंगलादेशले नेपालमा लगानी, सार्क र उपक्षेत्रीय सहकार्यका विषयमा छलफल गर्ने बताइएको छ।

बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) सहकार्य पनि अघि नबढेको अवस्थामा भुटानलाई छाडेर भए पनि सहकार्य अघि बढाउने विषयमा बंगलादेशले जोड दिँदै आएको छ।

भुटानले बीबीआईएनमा असहमति राखेको छ। बिम्स्टेकको मुख्यालयसमेत बंगलादेशमा छ। सार्क र आसियानलाई जोड्न बनेको उक्त आर्थिक संगठनको सहकार्य र गतिविधिबारे छलफल गर्ने तयारी छ।

हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। विभिन्न दलका नेताले पनि उनीसँग भेट गर्नेछन्।

कांग्रेससँग विशेष वार्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। बंगलादेशको स्वतन्त्रताका लागि कांग्रेसको तत्कालीन नेतृत्वले पुर्‍याएको योगदानबारे छलफल हुने जनाइएको छ।

हमिदको टोलीले काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थलको भ्रमण गर्नेछन्। उनी चन्द्रागिरी हिल, धुलिखेल पनि पुग्ने कार्यक्रम छ।

नगरकोट जाने तयारी रहे पनि सडकको दुरावस्थाका कारण रोकिएको एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस