आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना विश्वयुद्ध नियन्त्रणमा हामी कहाँ चुक्दै छौ ?

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) ६२५ पाठक संख्या

कोरोना भाइरस समस्त संसारका लागि नौलो र रहस्यमयी भाइरस हो । सानो समयमै यसले फैलाएको प्रकोप र यसले पुर्याएको जनधनको ठुलो नोक्सनीलाई आधार मान्ने हो भने कोरोनाले आफुलाई विश्वयुद्ध स्तरको त्रासदीका रुपमा स्थापित गरेको छ ।

आफैंमा नविन र घातक यस भाइरस बिरुद्धका अधिकांश प्रयोगहरु असफल देखिएका छन् । झन्डै ५ महिनाको समयमा पनि कोरोनाका लागि प्रभावकारी औषधि तथा खोपको खोज सम्भव देखिएको छैन । विश्व स्वास्थ्य संगठनका पछिल्ला वक्तव्यहरुलाई आधार मान्ने हो भने कोरोना बिरुद्ध प्रभावकारी संयन्त्र निर्माण हुन अहिले धेरै समय लाग्न सक्छ । लकडाउन र सामाजिक दुरी बाहेक हामीसंग अरु प्रभावकारी उपाय अहिलेको अवस्थामा छैन् ।

कोरोना बिरुद्धको लडाई धेरै लामो चल्नेमा कसैको बिमत्ति नहोला । नेपालले अन्य राष्ट्रहरुको अनुभवबाट सिक्दै आफ्नो परिवेस सापेक्ष नीति नियम र कार्यक्रमको निर्माण गरि यस चुनौती बिरुद्ध लाग्न जरुरि देखिन्छ । तत्कालको मनस्थितीबाट बाहिर आएर दिर्घकालिन सोंचका साथ नीति निर्देशन र कार्यक्रम निर्माण तथा कार्यनवयनमा हाम्रो राष्ट्र उदासिन देखिएको छ ।

कोरोनाका लागि पर्याप्त प्रयोगशालाका अभावको कुरा होस् वा प्रयोगशालाका लागि चाहिने उपकरण तथा रसायनको । कन्ट्रायाक्ट ट्रेसिंग, क्वारेन्टाइन, आइसोलेसन, आदीको कमीपनि हाम्रो लागि समस्याका बिषय हुन् । आ–आफ्नो उपस्थिति तथा उपयोगीता सिद्ध गर्ने प्रयासमा विभिन्न निकायले आपसी सहकार्यलाई थाती राख्दै एकलौटी निर्णयहरु गर्नाले हामी यस विश्वयुद्धमा अत्यन्त कम्जोर देखिएका छौँ । मपाईंको लहड र दंभको प्रभावमा, सबै ग्राहयता आफैं लिने मनसायबाट प्रेरित भै एक पछि अर्को गैरजिम्मेवार निर्णयले अहिलेको निर्णायक समयमा हामी फितलो देखिएका छौँ ।

कोरोनाको टेस्टमा केहि सुधार हुन थाले पछि दिनहुँ कोरोनाको बिरामीहरुको संख्या बढ्दै गएको छ । यसबाट आश्चर्यचकित हुन जरूरी छैन । देशमा कोरोना संक्रमितको संख्या यकिन गर्दै जाँदा यो संख्या बढ्दै जाने छ । आउने लामो समयसम्म यस संख्यामा वृद्धि हुने निश्चित नै छ । अहिले कै अवस्थामा समेत संक्रमितलाई उचित सेवा प्रदान गर्न हामी (स्वास्थ्यकर्मिहरु) लाई समेत हम्मे हम्मे परेको अवस्थामा आगामी दिनहरु कति कठिन हुने हुन् भन्ने कुराको आकलन गर्न कसैलाई गार्हो नहुनुपर्ने हो ।

यता यस त्रासदी बिरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मि तथा संचारकर्मीमा यस संक्रमणले आफ्नो असर देखाउन सुरु गरि सकेको छ । यसको प्रमुख कारण अग्रपंक्तिका योद्धाहरुलाई अतिआवस्यक निजि सुरक्षा उपकरणको अभाव हो । यसरी अग्र स्थानमा बसेर काम गर्नेहरुको तुरुन्तै उचित व्यवस्थापन नहुने हो भने स्थिति नियंत्रण बाहिर जान सक्छ ।

तसर्थ सबै निकायले एक आपसमा सहकार्यको दायरालाई बढाउदै लान जरुरी छ । लक्डाउन र सामाजिक दुरी कार्यनवयन गर्दै भारतसंग जोडिएको नाकालाई प्रभावकारी तरिकाले सिल राख्न नितान्त आवस्यक छ ।

रोक थामका सबै उपायहरुका साथै संक्रमितहरुका लागि आवश्यक समाग्रीहरुको व्यवस्थापन पनि समयमै हुन जरुरि देखिन्छ । दिनहुँ बढ्दै गरेको संक्रमित संख्या र अगामी दिनमा संक्रमितको संख्यामा बृद्धि हुनेमा कुरालाई मध्येनजर गर्दे उचित व्यवस्थापन नभएको खण्डमा चाडै हाम्रा सिमित स्वास्थ्य संरचनाले धान्न सक्ने स्थिति नरहन सक्छ ।

संक्रमितहरु मध्ये लक्षण नभएकालाई पनि अस्पतालमा राख्ने हो भने नेपालका अधिकांश अस्पताल भरिनेछन । यस बाट २ किसिमको समस्या आउनेछन् । प्रथम भोलिको दिनमा लक्षण देखिन सक्ने संक्रमितका लागि अस्पताल उपलब्ध हुने छैन् र दोश्रो कोरोना बाहेकका बिरामीका लागि समेत सेवा प्रवाहमा अप्ठ्यारो स्थिति आउनेछ । इटाली र अमेरिका जस्ता मुलुकमा यस्ता समस्याहरु उत्पन्न भै धेरैले ज्यान गुमाउनु परेको दृष्टान्तबाट हामीले समयमै सिक्न जरूरी छ । अन्यथा अनावश्यक रुपमा भरिभराउ अस्पतालले गर्दा उपचार चाहिने लक्षण सहितका धेरैले उपचारबाट बंचित ज्यान गुमाउने छन् ।

यसको उपायका लागि अहिलेदेखि नै लक्षण नभएकालाई अस्पताल बाहेकका वैकल्पिक स्थानमा राखेर आवश्यक उपचार गर्न सकिन्छ । त्यस्ता ठाउँमा आवस्यक औषधि, खाना, पानी, बन्दोबस्तीको व्यवस्थाका साथै टेलिकन्फरेन्स मार्फत चिकित्सक परामर्शको व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा पनि स्रोत साधन अभाव भएमा संक्रमितको घरलाई इंकित गरि घरमै पनि आइसोलेट गर्न सकिन्छ । साथै पुर्व निर्धारित कोरोना अस्पतालमा भेंटीलेटर सहितको सघन उपचार कक्ष लगायत सुबिधा राखेर लक्षण युक्त संक्रमितका लागि तयारी राख्न सकिन्छ । कोरोना विश्वयुद्धमा अग्रपंक्तिमा रहेर लड्ने सबैको सुरक्षा प्रबन्ध मिलाउनका साथै सबैको मनोबल उच्च राख्नु हामि सबैको सामाजिक जिम्मेवारी पनि हो ।

बिगतका सबै तिक्ततालाई विरसदै आगामी दिनहरुमा एक जुट भएर कोरोना विश्वयुद्धमा होमिनु बाहेकको अर्को विकल्प छैन । समय छदै सरोकारवाला सबै सम्मिलित समिति गठन गरि आवस्यक कदमहरु चल्दा मात्र सम्भाव्य गम्भीर दुर्घटनालाई टार्न सकिन्छ ।

डा. असरफ हुसेन

प्रतिक्रिया दिनुहोस