आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकिकृत समाजवादीको कुन प्रदेशमा कति सांसाद ?

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ३४३ पाठक संख्या

काठमाडौँ । नेकपा एमाले विभाजित भएपछि केन्द्रदेखि प्रदेशसम्मको समीकरण परिवर्तन भएको छ । माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) बनेपछि एमालेले केन्द्रपछि सबै प्रदेशमा आफ्नो नेतृत्वको सरकार गुमाउने भएको छ ।

अहिले प्रदेश १ मा एमाले नेता भिम आचार्य र बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार रहेको छ । तर अब एमाले विभाजित भएपछि दुवै प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

९३ सदस्यीय प्रदेश १ मा एमालेका ५१ सांसद थिए । जसमध्ये अब एकीकृत समाजवादी १० सांसद गएका छन् । यो सँगै प्रदेश १ मा आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

त्यस्तै १०७ सदस्यीय प्रदेश २ मा एमालेका २१ सांसद रहेका थिए । जसमा १३ संसदले एकीकृत समाजवादी रोजेका छन् भने अब एमालेमा केवल ८ सांसद रहेका छन् । यस प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठुलो भएको छ ।

त्यस्तै ११० सदस्यीय बागमती प्रदेशको प्रदेश सभामा एमालेका कुल ५६ सांसद थिए । जसमध्ये १३ प्रदेश सांसद एकीकृत समाजवादीमा गएका छन् । यसबाट एमालेको सांसद संख्या ४३ भएको छ भने शाक्य नेतृत्वको प्रदेश सरकार पनि अल्पमतमा परेको छ ।

त्यस्तै ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् भने गण्डकी प्रदेशबाट कुनै पनि प्रदेश सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छैनन् । अर्थात् गण्डकी प्रदेशमा एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ । यस प्रदेशमा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार यस अघि नै हटिसकेको छ ।

त्यस्तै ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सांसद रहेकोमा एक जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार यस अघि नै अल्पमतमा परेपछि सरकारबाट हारिसकेको छ ।

त्यसैगरी ४० सदस्यीय कर्णाली प्रदेशमा एमालेका २० सांसद रहेकोमा पार्टीले कारवाही गरेर ४ सांसदको पद बर्खास्त भएको छ भने अहिले १६ सांसद रहेका छन् । जसमा ३ जनाले एकीकृत समाजवादी पार्टी रोजेपछि अब एमालेका १३ सांसद बाँकि रहेका छन् ।

त्यसैगरी ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ सांसद रहेका थिए । जसमा १४ सांसद एकीकृत समाजवादीमा गएका छन् । योसँगै सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठुलो पार्टी भएको छ ।

यसरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले एमालेलाई प्रदेश सरकारबाट पनि विस्थापित गर्ने निश्चित भएको छ भने प्रदेश २ र सुदूरपश्चिम गरि दुई प्रदेशमा एमालेभन्दा ठुलो पार्टी बनेको छ । त्यस्तै बागमती प्रदेश र प्रदेश १ मा निर्णायक भूमिकामा देखिएको छ ।
त्यस्तै एकीकृत समाजवादीको संघीय संसदमा दुवै सदनका गरेर २९ सांसद रहेका छन् ।

निर्वाचन आयोगले प्रदेशसभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा दल रोज्नका लागि समय तोके अनुसार अहिले एमाले र एकीकृत समाजवादीमा निर्वाचित जनप्रतिनिधि तान्ने होडबाजी चलेको छ भने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले अन्तिम निर्णय आज लिदै छन् ।

 

 

 

खरीबोटबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस