आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शहरी बिकास मन्त्री मेटमणि चौधरीद्धारा बारामा शिलान्यास गरेका योजना अलपत्रमा पर्ने सम्भावना

एपी खबर २०७९ आश्विन ८, शनिबार (१ साल अघि) ३४५ पाठक संख्या

नेपाल सरकारका शहरी बिकास मन्त्री मेटमणि चौधरीले शुक्रवार बारामा शिलान्यास गरेका योजना अलपत्रमा पर्ने देखिएको छ । मन्त्री चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रवार बारामा ४६ करोडको योजना शिलान्यास गरेपछि यो योजनाहरु अलपत्रमा पर्ने देखिन्छ ।

 

कानुनी प्रक्रिया लत्याउदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आएका थिए ।

 

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया–वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, ईनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गरेका छन् । उक्त सडकखण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।

 

यसैगरी मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ बिकासशिल चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोट देखि बिकासशिल चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गरेका छन् ।

 

सघन शहरी विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रम अन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले डिपिआर स्विकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।

 

काठमाण्डौंको मनिषा ईन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डिपिआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठिक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्विकृत गर्नुपर्ने र उक्त डिपिआरकै आधारमा टेण्डर आवहान गरेर ठेकेदार छनौट प्रक्रिया गर्नुपर्ने हुन्छ ।

 

 

साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डिपिआरलाई स्विकृतनै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिएका हुन् । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस