आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिको चुनावका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु

एपी खबर २०७९ फागुन २५, बिहिबार (१ साल अघि) १३६ पाठक संख्या

काठमाण्डाै – नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । देशकाे तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्वसभामुख नेम्वाङ एमालेका उम्मेदवार हुनुहुन्छ ।

 

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार एक सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार चार सय गरी कुल मतभार ५२ हजार पाँच सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार दुई सय ७५ मतभार ल्याउनुपर्छ ।

 

सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने निर्णयअनुसार मतदान गरेन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस