आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिरो पीडितलाई राहत वितरण

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ६१ पाठक संख्या

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई नेपाल शेर्पा सङ्घ जिल्ला समितिले राहत वितरण गरेको छ । सङ्घका पदाधिकारीसहितको टोली बिहीबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

 

नेपाल शेर्पा सङ्घका जिल्ला अध्यक्ष पासाङरिता शेर्पाका अनुसार मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलका पहिरो प्रभावित ६१ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार चामल ५० किलोग्राम, दाल पाँच किलोग्राम, नुन दुई किलोग्रामका दरले राहत सामग्री वितरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

 

यस्तै, खाने तेल प्रतिपरिवार पाँच लिटर, जिरा मसला २५० ग्राम र साबुन लगायतका सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको उहाँले बताउनुभयो । काठमाडौंस्थित कपन महायान केन्द्र गुम्बाअन्तर्गत हेल्पिङ हेण्डको आर्थिक सहयोगमा तीन लाख ८९ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । पहिरो प्रभावितका लागि सहयोग जुटाउन बुमकुलुङ शेर्पा किदुक फाउन्डेसन काठमाडौंले पनि सहकार्य गरेको थियो ।

 

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनलगायतले राहत सामग्री पीडित परिवालाई वितरण गर्नुभएको थियो । यता अधिकांश शेर्पा समुदायको बसोबास रहेको ओदक टोलमा राहत पाउनेमा पनि दुई परिवार अन्य र बाँकी ५९ परिवार शेर्पा समुदायकै रहनुभएको छ ।

 

पहिरो प्रभावितमध्ये करिव डेढ दर्जन परिवार उच्च जोखिममा र बाँकी जोखिममा रहेका बताइएको छ । गत असार २ गते राति भीषण वर्षासँगै गएको पहिरोका कारण साँघुको ओदक टोल जोखिममा परेको हो ।

प्रतिक्रिया दिनुहोस