आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठूलो खोला जलविद्युत आयोजना निर्माण अवरुद्ध

एपी खबर २०८० अषाढ २५, सोमबार (१० महिना अघि) ६५ पाठक संख्या

म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेमा निर्माणाधीन जलविद्युत आयोजनामा करिब ४५ लाख बराबरको क्षति भएको छ । बाढीले बाँधस्थलमा क्षति पुर्‍याएसँगै निर्माण कार्य अवरुद्ध बनेको हो ।

 

संयुक्त उर्जा प्रा.लि ले निर्माण गर्न लागेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाको बाँधतर्फ बाढीले क्षति पुर्‍याएपछि निर्माण कार्य अवरुद्ध बनेको आयोजनाले जनाएको छ। यही असार २१ राति आएको वर्षापछिको बाढीले आयोजनाको बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, ‘‘हेडवर्क्सतर्फ बाँध, बालुवा थिग्राउने पोखरी लगायतका पूर्वाधार धमाधम बनिरहेको समयमा बाढीले आयोजनालाई क्षति पुर्‍याउँदा निर्माण कार्य नै प्रभावित बनाएको छ, केही हाइड्रो मेकानिकल सामग्री पनि बाढीले बगायो, निर्माणाधीन पूर्वाधारमा पसेको ढुङ्गा माटोको गेगर नहटाएसम्म निर्माण कार्य अवरुद्ध हुनेछ ।’’

 

आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर-त्रिपल एस जेभीले बाढीले ४५ लाख बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको जनाएको छ । यस आयोजनाको एक मात्रै पहुँचमार्ग रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि आयोजनास्थलतर्फ जाने सडकखण्ड अन्तर्गत मलाङको पहिरोले निरन्तर सडक अवरुद्ध हुन थालेपछि आयोजनाको निर्माण सामाको ढुवानीमा समेत समस्या देखिएको छ ।

 

बाँध र विद्युत गृहतर्फको पूर्वाधार निर्माण गरिरहेको ठेकेदार कम्पनीले अहिले कार्य क्षेत्रमा एक सय ३० जना मजदुर परिचालन गरेको छ । सन् २०२४ जुलाइमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनामा बाढी लगायतको प्राकृतिक विपद्को कारण निर्माण कार्य प्रभावित बनेको कारण निर्धारित समयमै आयोजनालाई सम्पन्न गराउन चुनौती थपिएको आयोजना प्रमुख हमालले बताउनुभयो । उहाँका अनुसार आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

 

रघुगङ्गा नदीस्थित फेदी खोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरी स्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेमा अहिलेसम्म दुई हजार मिटर सुरुङ निर्माण भैसकेको छ । आयोजना सम्पन्न गर्न करिब तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस