आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारीलाई उत्पादनमुखी बनाउन अर्थमन्त्री शर्माको आग्रह

एपी खबर २०७८ श्रावण ३२, सोमबार (२ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री शर्माले गरिवी निवारणमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

 

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको भन्दै मन्त्री शर्माले ‘तपाईहरुको लगानी केमा केन्द्रित छ ? भन्ने प्रश्न गर्नुभयो । घर जग्गा वा गाडी खरिदमा केन्द्रित रहेको लगानी अर्थहिन हुने भन्दै उहाले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको जानकारी गराउनुभयो । उहाले सबै सहकारीहरुलाई त्यस योजनामा सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाले सहकारी सञ्चालन तथा उत्पानमुखी लगानीमा कुनै समस्या भए त्यसको समाधानका लागि आफु तयार रहेको बताउनुभयो ।

 

सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गर्नुभयो । उहाले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस