आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेका सांसदहरुद्धारा आजपनि संसद अवरुद्ध, विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुन सभामुखको आह्वान

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ५६३ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

यसैबिच सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गर्नुभएको छ । आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताउनुभयो ।

 

विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दै उहाले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन आह्वान गर्नुभयो । सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएको छ ।

 

तर एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस