आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरधाममा भानुभक्तको स्मारक बनाउन खोज्दा मधेश केन्द्रित दलको विरोध

एपी खबर २०८० बैशाख १६, शनिबार (१ साल अघि) ७६ पाठक संख्या

जनकपुर: मधेश आन्दोलन ताका भत्काइएको जनकपुरधामको भानुचोक आदिकवि भानुभक्त आचार्यको स्मारक पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेशवादी दलहरूले विरोध जनाएका छन् ।जानकी नवमीको अवसरमा शनिबार जनकपुरधाम उपमहानगरपालिकाले सो स्मारकको शिलान्यास गर्दा मधेश केन्द्रित दलका कार्यकर्ताहरूले त्यसको विरोध गरेका हुन् । विरोधका बीच जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले स्मारकको शिलान्यास गरे ।

 

लामो समयदेखि त्यहाँ आदिकवि भानुभक्तको स्मारक रहेको र यहाँका जनजनमा आदिकवि भानुभक्त सम्मान रहेको र उनले पहिलोपटक नेपाली भाषामा रामायणको अनुवाद गरेकोले धार्मिक नगरी जनकपुरधाममा उनको स्मारक रहनुपर्ने भन्दै मेयर साहले स्मारक बनाउनुपर्ने बताए । सो स्मारक निर्माणका लागि उपमहानगरपालिकाले २० लाख वजेट विनियोजन गरेको उनले बताए ।

 

यता, मधेश केन्द्रित दल जसपा, लोसपा तथा जनमतका कार्यकताहरूले मधेश आन्दोलनमा सो स्मारक भत्काई शहीद रमेश महतो स्मारक नामकरण गरिएको भन्दै सोही स्मारकको निर्माण हुनुपर्ने माग गरेका छन् । जसपाका नेता जीतेन्द्र यादवले भने, ‘आदिकवि भानुभक्त हामी सबैको लागि सम्मानित हो, तर मधेश आन्दोलनको क्रममा नामाकरण गरिएकोलाई अहिले हटाएर पुनः पुरानोलाई स्थापित गर्नु मधेश आन्दोलनको अपमान हो ।’

 

मेयर साहले स्मारक निर्माणमा विवाद भएपछि आइतबारका लागि सार्वदलीय बैठक बोलाएका छन् । सोही बैठकको निर्णयअनुसार निर्माण कार्य अगाडि बढाउने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस