आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

एपी खबर २०८० बैशाख २२, शुक्रबार (१ साल अघि) ८० पाठक संख्या

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

 

सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।

 

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शिर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए ।

 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको कामसमेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस