आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा विस्फोट :पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दा दर्ता

AuthorAP Khabar२०८० फागुन १६, बुधबार (१ महिना अघि) ७०४ पाठक संख्या

बारा – बाराको निजगढमा शंकास्पद बस्तु विस्फोट घटनामा पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको छ।बाराको निजगढ नगरपालिका-७ सहिद चौक स्थित रोहित वर्कसपमा सोमबार भएको विस्फोटको घटनामा पक्राउ परेका १ जना भारतीय सहित २ जना माथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

सोमबार निजगढमा भएको शंकास्पद बस्तु बिष्फोटमा परि ३ जनाले ज्यान गुमाईसकेको छ ।विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये तीनजनाको उपचारको क्रममा मृत्यु भएको हो । वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडी बढाईएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

 

निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

 

घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका– ९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस