आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२२ बर्षपछि माल्दिभ्स बिरुद्ध नेपालको जित, नेपाल जितको हकदार थियोः प्रशिक्षक अलमुताइरी

एपी खबर २०७८ आश्विन १६, शनिबार (२ साल अघि) ५६० पाठक संख्या

२२ बर्षपछि पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिप अन्तर्गतको पहिलो चरणको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ ।

पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो ।

विजयीपछि नेपालको तीन अंक भएको छ ।

नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो । त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित तथा ४ खेल भने बराबरीमा टुंगिएका थिए । दुई दशक भन्दा लामो समयदेखि नेपाली टोलीले माल्दिभ्सलाई हराउन सकेको थिएन । पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन । त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

त्यसयताका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन । यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा भने बराबरी खेलेको थियो । पछिल्लो पटक नेपाल र माल्दिभ्सले सन् २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए । त्यसबेला सेमिफाइनलमा नेपाललाई ३–० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो । माल्दिभ्सले भारतलाई हराउँदै उपाधि नै जितेको थियो ।

यता नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाल जितको हकदार रहेको बताएका छन् ।

उनले नेपालले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको बताए । ‘हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं । हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं । गोलरहित बराबरीमा रहनुले पनि उनीहरुलाई समस्या भएको थियो,’ उनले भने ।

‘हामीले मिनेट पिछे मिहिनेत गरेर जितको हकदार थियौं । हामीले उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं । सेट पिसमा केहि अवसर सिर्जना गरेका थिए, तर ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं । हामीले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । आजको हाम्रो हिरो मनिष डाँगी रहे,’ प्रशिक्षक अलमुताइरीले भने ।

अलमुताइरीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलको हारले आफू पनि निराश रहेको बताए ।

प्रशिक्षक अलमुताइरीले अन्त्यमा सबैलाई संयमित रहन पनि आग्रह गरे ।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे हुनेछ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस