आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिना सूचना पाँच दर्जन कर्मचारी कता गए ?

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३८३ पाठक संख्या

इलाम ,साउन २८ : संघ र प्रदेशअन्तर्गतका विभिन्न २० कार्यालयमध्ये १३ कार्यालयका ५७ जना कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित देखिएका छन् । सेवाग्राहीको गुनासो आउन थालेपछी प्रशासनबाट संवैधानिक निकाय र स्थानीय तह अन्तर्गतका कार्यालयमा एकैसाथ छड्के निरीक्षण गर्दा करिब पाँच दर्जन कर्मचारी कार्यालय समयमा कार्यालयमा नभेटिएका हुन् ।

अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालयमा दरबन्दीका सबैजसो कर्मचारी अनुपस्थित देखिए । प्रशासनको टोलीले कार्यालय समयमा स्वास्थ्य कार्यालय खुलेको भए पनि कर्मचारी भेटेन । साढे १० बजेसम्म पनि कर्मचारी उपस्थित नभएपछि प्रशासनका कर्मचारीले हाजिरी पुस्तिका नै नियन्त्रण लिएका हुन् ।

कार्यालयमा एक – दुई जना कर्मचारी कहिलेकाहीँ बाध्यताले बिना सूचना कार्यालयमा उपस्थित हुन नसक्नु स्वाभाविक मानिएला तर यहाँको स्वास्थ्य कार्यालयका कर्मचारीमा भने गैरजिम्मेवार र हेपाहा प्रवृत्ति देखिएको छ । छड्केका दिन कार्यालय प्रमुख एवं जनस्वास्थ्य अधिकृत टङ्कप्रसाद चौधरीसहित अधिकांश कर्मचारीहरु अनुपस्थित थिए ।

जनस्वास्थ्यका १७ र सडक डिभिजनका ११ जना छड्केमा

जिल्ला प्रशासन कार्यालयका अनुसार त्यहाँ कार्यरतमध्ये जनस्वास्थ्य अधिकृत महेश चौधरी, ल्याव टेक्निसियन निलेशकुमार ठाकुर, अधिकृत नृपकुमारी राजवंशी, भेण्टर कण्ट्रोल सुपरभाइजर बिमल बराल, तथ्याङ्क सहायक सञ्जु कार्की, हेल्थ असिस्टेण्ट नविनकुमार शर्मा, अनमी सुनिता बस्नेत, कास तिलमाया श्रेष्ठ, कम्प्यूटर अपरेटर ललित खतिवडा, कार्यालय सहयोगी सिता पौडेल, करार कर्मचारी निर्मलकुमार काफ्ले, कर्मचारी प्रतिमा पौडेल, शाखा अधिकृत सुरजकुमार सरदार र अनुपम सिंह, हल्का सवारी चालक आशिष चौधरी, अनमी सन्दीप लिम्बू, स.ई. गोकुलानन्द देव, सि.अ.व. विना राई अनुपस्थित थिए । उनीहरुले कुनै प्रकारको बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएको पाइएकाे हाे ।

स्वास्थ्य कार्यालयमा जस्तै सडक डिभिजन कार्यालयमा पनि ११ जना कर्मचारी छड्केका क्रममा अनुपस्थित देखिए । कार्यालयमा बिना जानकारी वा बिदा नै स्वीकृत नगराई कार्यालय नआएका कर्मचारीमा लेखापाल, सव इञ्जिनियरदेखि कार्यालय सहयोगीसम्म रहेका छन् । छड्केका क्रममा सडक डिभिजन कार्यालयका लेखापाल चन्द्रकान्त पोखरेल, पाँचजना सब इञ्जिनियरहरु नुपु लामा, अमितकुमार चौधरी, विरजा शर्मा, तेजनारायण शाह, गणेश निरौला र रमेश कुमार शाह, सवारी चालक रामचन्द्र राई, कार्यालय सहयोगीहरु विष्णुप्रसाद खनाल, लोकबहादुर निरौला र भिमबहादुर पौडेल अनुपस्थित पाइएको प्रशासन कार्यालय जानकारी दिएको छ ।

यसैगरी अनुगमनका क्रममा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सात जना कार्यालयमा अनुपस्थित देखिएका छन् । इञ्जिनियर दिनेशकुमार घिमिरे र रामबालक शाह, अधिकृत प्रमिला पौडेल, सव इञ्जिनियर प्रदिपकुमार सिंह र समिप श्रेष्ठ, सवारी चालक हेमनारायण चौधरी र कार्यालय सहयोगी धनबहादुर राई छड्केमा परेका हुन् ।

छड्के निरीक्षणका क्रममा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय र डिभिजन वन कार्यालयमा चार- चार जना, जिल्ला हुलाक कार्यालयका तीन जना, शिक्षा विकास तथा समन्वय इकाईका दुई जना तथा करदाता सेवा कार्यालय, नापी, कारागार, वनस्पति अनुसन्धान केन्द्र, शहरी विकास तथा भवन, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका एक – एक जना कर्मचारी बिना सूचना बिदामा बसेको पाइएको छ ।

खानेपानीका इञ्जिनियर बिनोदकुमार योञ्जन, सव इञ्जिनियर मनोज श्रेष्ठ र इञ्जिनियर सीमा कुमारी र कास रामकुमार तामाङ तथा वनका लेखा अधिकृत युवराज बराल, रेञ्जर रमेश शिवाकोटी, सवारी चालक तिलक अधिकारी र कार्यालय सहयोगी चित्रबहादुर खत्री कार्यालयमा अनुपस्थित देखिए ।

त्यस्तै, हुलाकका खरिदार पद्माकुमारी बास्कोटा कट्टेल, कार्यालय सहयोगीहरु कमलबहादुर बस्नेत र तारादेवी निरौला, शिक्षाका शाखा अधिकृत डम्बरबहादुर सुबेदी र प्रास प्रतिमा पौडेल कार्यालय समयमा थिएनन् । करदाता सेवा कर्यालयका नायब सुब्बा तुलासीदेवी दाहाल, नापीका सर्भेक्षक शम्भु चौधरी, कारागारका हेल्थ असिस्टेन्ट पङ्कज पोखरेल, वनस्पतिका पदमप्रसाद आचार्य, शहरी विकासका इञ्जिनियर अभिशेक राजा शाही र पशुसेवाका पशु चिकित्सक डा. सञ्जय ढुङ्गाना कार्यालयमा उपस्थित नभएको प्रशासनले फेला पारेको हो ।

एकैसाथ कार्यालय खुल्नेबित्तिकै सबै कार्यालयमा कर्मचारी खटाएर निरीक्षण गर्दा धेरै कार्यालयका धेरै कर्मचारी बिना सूचना कार्यालयमा अनुपस्थित रहेको निमित्त प्रमुख जिल्ला अधिकारी देविचरण फुयाँलले बताउनुभयो ।

फुयाँलले अनुपस्थित रहेका कर्मचारीलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण चित्त नबुझे कर्मचारीलाई पहिलो पटक सचेत गराउने बताउनुभएको छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस