आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा दिवसमा उत्कृष्ट शैक्षिक संस्था पुरस्कृत

AuthorAP Khabar२०७६ भाद्र २३, सोमबार (४ साल अघि) ५४३ पाठक संख्या

भाद्र ,२३ : शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको देशका उत्कृष्ट शैक्षिक संस्था पुरस्कृत भएका छन् । माध्यमिक शिक्षा परीक्षा, कक्षा १०, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ तथा उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयले आइतबार पुरस्कृत गरेको हो ।

कक्षा १२ मा अमरसिंह मावि उत्कृष्ट
कक्षा १२ मा सामुदायिक विद्यालयतर्फ पोखराको अमरसिंह माविले प्रथम स्थान हासिल गरेको छ । उसले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गरी माध्यमिक सिल्ड, ध्वजा र तीन लाख नगर पुरस्कार प्राप्त गरेको हो । त्यसैगरी, सामुदायिकतर्फ दोस्रो हुने मोरङको सुकुना माध्यमिक विद्यालयले दुई लाख र तृतीय हुने पर्वतको भवानी विद्यापीठ एक लाख नगदसहित पुरस्कृत भएका छन् । संस्थागततर्फ कास्कीको एसओएस हर्मन माइनर मावि प्रथम, नेपाल पुलिस स्कुल साँगा दोस्रो र माइतीघरस्थित सेन्ट जेभियर्स कलेज तृतीय भएका छन् ।

एसइईमा मेघा मावि
सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा भक्तपुरको मेघा माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । सो विद्यालय माध्यमिक शिक्षा परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गरी माध्यमिक सिल्ड, ध्वजा र तीन लाख नगदसहित पुरस्कृत भएको छ । त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने गुल्मीको रेसुंगा माविले दुई लाख र तेस्रो हुने काठमाडौंको तरुण मावि एक लाख नगदसहित पुरस्कृत भए ।

संस्थागततर्फ माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा काठमाडौंको रिलायन्स इन्टरनेसनल एकेडेमी उत्कृष्ट भएको छ । त्यसैगरी, साँगास्थित नेपाल पुलिस स्कुल दोस्रो र नयाँ बानेश्वरस्थित भ्याली भ्यू इंग्लिस स्कुलले तेस्रो स्थान प्राप्त गरे ।

शिक्षालय र क्याम्पस पनि पुरस्कृत
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनोट भएका आंगिक, सम्बन्धनप्राप्त र सामुदायिक मावि गरी तीन शैक्षिक संस्था एक लाख नगदसहित पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, सम्बन्धनप्राप्तमध्येबाट तानसेन स्कुल अफ साइन्स र सामुदायिक माविबाट सिन्धुलीको जनज्योति मावि पुरस्कृत भए ।

विश्वविद्यालय अनुदान आयोगबाट छनोट भएका विश्वविद्यालयका आंगिक, सामुदायिक र सम्बन्धनप्राप्त क्याम्पससमेत दुई लाख ५० हजार नगदसहित पुरस्कृत भएका छन् । आंगिकमध्ये पुल्चोक क्याम्पस, सामुदायिकतर्फ लहानको जेएस मुरारका बहुमुखी क्याम्पस र निजीतर्फ काठमाडौं बर्नहार्ट कलेज पुरस्कृत भएका छन् । शैक्षिक संस्थाहरूलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताए ।

राष्ट्रपतिबाट विद्याभूषण प्रदान
शिक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यावारिधि गर्नेलाई नेपाल विद्याभूषण क, स्नातकोत्तर तहमा उत्कृष्ट विद्यार्थीलाई नेपाल विद्याभूषण ख र स्नातकमा उत्कृष्ट विद्यार्थीलाई नेपाल विद्याभूषण ग प्रदान गरेकी छिन् । राष्ट्रपतिबाट नेपाल छात्रा विद्यापदकसमेत प्रदान भएको थियो ।

साधारण विद्यालय टिक्ने अवस्था छैन : शिक्षामन्त्री पोखरेल
शिक्षा दिवसका अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बालबालिकाको पहुँच वृद्धि भए पनि गुणस्तर वृद्धिका लागि प्रयास गर्नुपर्ने अवस्था रहेको बताए । उनले अब सिकाइकेन्द्रित शिक्षा प्रणालीको विकास आवश्यक भएको धारणा राखे । ‘साधारण विद्यालय च्याउसरह उम्रिए, अब टिक्ने अवस्था छैन,’ मन्त्री पोखरेलले भने, ‘टिके पनि बेरोजगार जनशक्ति उत्पादनका कारखाना बन्नेछन् ।’ उनले यसै वर्ष नेपाल साक्षर नेपाल घोषणा गर्ने अभियानमा मन्त्रालय लागेको बताए ।

नयाँ पत्रिका;

प्रतिक्रिया दिनुहोस