आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

होम आईसोलेशनमा कोभिड–१९ एक अनुभुति

एपी खबर २०७७ श्रावण ३२, आईतबार (३ साल अघि) ६७१ पाठक संख्या

अनिलकुमार तिवारी

कोरोना (कोभिड १९) सक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्न थालेको आज शनिबार २१ दिन पुग्यो । सामान्य ज्वरो आउन थालेपछि म केही दिनअघि देखि नै आफै आईसोलेशनमा बस्न थालिसकेको थिएँ । पहिलो परीक्षणको ७ दिनपछि नै गर्नु पर्ने मान्यता विपरित मेरो दोस्रो परीक्षण पनि १३ दिनपछि मात्रै भएको थियो । यतिबेला मैले आफुलाई पुर्णरुपमा स्वस्थ महशुस गरिरहेको छु । कोरोनाको कुनै लक्षण र समस्या अनुभुति छैन । दुई सातायता मेरो स्वास्थ्य सामान्य छ । रुघा, खोकी लागेको छैन र शरीरको तापक्रम पनि संन्तुलित छ । मलाई लाग्छ म कोरोना जितेर पुर्ण रुपमा ठिक भइसकेको छु ।

 

मलाई लाग्छ योबीचमा मेरा धेरै साथी र शुभचिन्तकहरुले जसरी स्वास्थ्य लाभको कामना गर्नुभयो र मलाई हौसला दिनुभयो त्यही कारणले पनि कोरोनालाई पराजित गर्न मलाई यो सफलता मिलेको हो । तर म आफैले स्वस्थ छु भनेर मात्रै नहुने रहेछ । म अझै पनि घरबाहिर निस्केर आफनो पेसमा लाग्न नसक्ने अवस्थामा छु । त्यसैगरी साथी र आफन्तहरुसंगको भेटघाट हुन पाएको छैन । दोस्रो पटकको पिसिआर रिपोर्ट प्राप्त गर्न नसक्दा घरबाहिर निस्कन मलाई कठिनाइ भएको छ । यस्तो अवस्थामा बस्नु पर्दा कहिले काही कतै मेरो शरीर र स्वास्थ्यमा मेरो आफनै हक गुमिसकेको पो हो कि जस्तो पनि लाग्छ । यतिबेला म त्यही रिपोर्टको प्रतिक्षामा छु । जसले मलाई घर बाहिर निस्कने वा फेरि भित्रै बस्ने अनुमति दिने छ ।

 

हुनत्, बारा र पर्सा जिल्ला त्यसमा पनि मेरो संसर्गको वीरगंज महानगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकामा यतिबेला कोरोनाको माहामारी तिव्ररुपमा फैलिरहेको छ । मलाई राम्ररी थाहा छ । यस्तोबेला बाहिर निस्कनु राम्रो कुरा होइन । तर म एउटा संचारकर्मी जसले आफुलाई सुरक्षित राख्दै गाउँघरमा पुगेर समाचार संकलन गर्नुपर्ने हुन्छ । मेरो र परिवारको जीवीका त्यसैमा टिकेको छ । यस्तो अवस्थामा एउटा पिसिआर रिपोर्ट आउन ढिला भएर अनावश्यक रुपमा आइसोलेशनमा बस्नु पर्दाको मेरो पिडा भने अलि फरक छ । अझ पुर्णरुपमा स्वस्थ भइसकेको अवस्थामा पनि यसरी घरमै बस्नुपर्ने बाध्यता मेरोलागि थप पिडादायी छ । म यतिबेला त्यहि आदेशको पर्खाइमा घडी हेरेर बसेको छु । जसले मलाई मेरो पेसामा फर्किन आदेश देओस ।

 

कोरोना संक्रमितहरुले पहिलो पटकको रिपोर्ट आएको दिनबाट गनेर ७ दिनमा दोस्रो पटक चेक गर्नु पर्ने हुदो रहेछ । यहाँ त बरु दोस्रो पटक समयमै जाँच गराउने कुरा त परै जाओस, पहिलो पटक जाँच गरेको ७ दिनपछिमात्रै रिपोर्ट प्राप्त हुन्छ । मेरो पनि चेकजाँच गरेको एक सातापछि मात्रै रिपोर्ट प्राप्त भएको थियो । नेपालको स्वास्थ्य सेवाको अवस्था बारेमा थोरबहुत केही कुरा बुझेको भएर यो विषयमा थप केही भन्ने पक्षमा पनि छैन म । संक्रमितको उच्च चाँप र त्यसको अनुपातमा हाम्रो देशमा विद्यमान प्रयोगशाला र जनशक्तिले यो समस्या आएको हो । स्वाब परीक्षणमा हुने ढिलाईले एउटा संक्रमितले निर्धारित समयमा दोस्रो चरणको चेकजाच गर्न पाउने अवस्था छैन यहाँ । खासमा बिरामी भएको १४ दिन पश्चात कोरोनालाई शरीरले पचाँइ सक्छ या कोरोनाका कारण शरीरमा सक्रमण भएको ६ दिनदेखि १० दिनसम्ममा यसले उग्र रुप लिन पनि सक्छ । कहिलेकाही यो समस्या मेरो मात्रै होइन भन्ने पनि लाग्छ र देशभरीका संक्रमितहरुको यही अवस्था देखेर मन बुझाउदै आएको छु ।

 

नेपालमा धेरैमा देखिएको कोरोनाका माईनर केस अर्थात समान्य असर गर्ने प्रकृतिका छन । यसमा हल्का ज्वरो, सुख्खा रुघा खोकी, टाउको दुख्ने, सुघ्ने क्षमतामा ह्रास आउने, जिब्रोले स्वाद थाहा नपाउने जस्ता लक्षण र समस्या देखा पर्छन । आज कोरोनालाई पराजित गरेको महशुर हुदै गर्दा शायद म पनि त्यस्तै प्रकृतिको संक्रमितमा पर्छु होला जस्तो लागेको छ ।

 

हाम्रो समाजमा कोरोना एउटा डरलाग्दो भूत जस्तो प्रतीत भएर बसेको छ । जसरी अस्तित्व बिनको भूतले मानिसको मानसपटलमा भय सृजना गर्छ र मृत्युको डिलमा पुर्याउछ । त्यसरी नै आज कोरनाले मान्छेहरुलाई आतङ्कित बनाइरहेको छ र धेरैले अनाहकमा ज्यान गुमाउदै छन । संक्रमण हुनअघि मेरो मानसपटलमा पनि केही हदसम्म त्यस्तै कुराले बास गरेको थियो । संक्रमणपछि घरमा बस्दा मैले पनि कोरोनाको बारेमा केही अध्ययन गर्ने फुर्सद पाएँ । यस क्रममा मैले हिजो र आज बुझेको कोरोनामा फरक पाएको छु ।

 

विज्ञहरुकाअनुसार समान्य लक्षण भएका कोभिड संक्रमितलाई सक्रमण भएको ६ देखि १० दिनसम्म माथिका सबै लक्षण देखा पर्ने र त्यसपछि १४ दिन सम्ममा समान्य औषधि सेवनबाटै निको हुन्छन । भारतका बरिष्ठ चिकित्सक के.के. अग्रवालको भनाइमा यसरी बिरामी भएको दिनदेखि १४ दिनसम्म समान्य हुनेले १५ औँ दिनदेखि समान्य काम समेत गर्न सक्छन । चिकित्सक अग्रवालको भनाइले म जस्तो आईसोलेशनमा बसेको २० दिनसम्म पनि दोस्रो पि.सि.आरको रिपोर्ट कहिले आउछ भन्ने भेग पाउन नसक्नेहरुलाई विचलित तुल्याउनु स्वाभाविक नै हो ।

 

म आइसोलेसनमा बसेको यत्तिका दिनसम्म पनि कुनै आधिकारिक चिकित्सकले मेरो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने दुख गरेका छैनन । यदि म अस्पतालको आइसोलेशनमा हुन्थ्ये भने शायद केही औषधि र चिकित्सकीय सेवा पनि पाउथे होला । सेवा नपाएकोमा मेरो व्यक्तिगत गुनासो छैन । तर पनि आफ्नै घरमा बसेर एक हिसाबले सरकारलाई खर्च भारलाई कम गर्न सहयोग गर्ने म जस्ता हजारौंलाई राज्यले यसरी बेवास्ता गर्नु चाहि हुदैनथ्यो जस्तो लाग्छ । अब फेरि पनि म दोस्रो चरणको रिपोर्ट नेगेटिभ आउने र आफ्नो कार्यमा नियमित फकिर्ने व्यग्र प्रतिक्षामा छु ।

 

घरको आइसोलेशन

पि. सि. आर चेक गर्न दिएको ५ दिन बितिसकेको थियो । ज्वरो आएर पनि निको भएकोले मलाई कोरोना भएर पनि ठिक भैसकेको होला जस्तो पनि लाग्थ्यो । तर बिडम्बना मेरो पि. सि. आर रिपोर्ट पोजेटिभ आएछ । रिपोर्ट आउनुअघि आफ्नो दैनिकी सहज गर्ने र नियमित काममा फर्किन सोचसहित खाना खाएर आराम गर्दै थिएँ । मित्र दिवाकर भण्डारीको फोन आयो । अरु दिन झै उहाँले रिपोर्ट के आयो भन्ने प्रश्न सोध्नुभयो । मैले पनि खै आज ५ दिन भो रिपोर्टको पर्खाईमा बसेको रिर्पाट नै आएको छैन भन्ने जवाफ दिए । एकछिन सोचेर उहाँले भन्नु भयो ‘तपाईको रिपोर्ट पोजेटिभ आयो तर अहिले घरपरिवारकासाथै घरबाहिर कसैलाई नभन्नु होला, तपाईलाई अस्पतालबाट आधिकारीक जानकारी आउने छ ।’ मैले हस भन्दै आफनो भाइको रिपोर्ट बारेमा पनि साचो राखे उसको रिपोर्ट भने निगेटिभ रहेछ ।

 

साउन ९ गते टाउको भारी भइरहेको थियो । राती ज्वरो आएको जस्तो लाग्यो । घरमा भाइलाई पनि तीन दिनदेखि ज्वरो आएको थियो । भाइसंगै मलाई पनि ज्वरो आएपछि मलाई केही गडबडीको शंका लाग्यो । मैले श्रीमति जीलाई आजबाट मेरो पनि भाई सुत्ने कोठाम सुत्ने ब्यवस्था मिलाइदिन भने उनले पनि त्यसै गरिन । १० गते देखि हामी दाजुभाइ एउटै कोठामा सुत्न बस्न थाल्यौ । त्यहि दिन भाइको सुघंने क्षमता पनि कम भयो । अर्थात उसको नाकले कुनै पनि वस्तुको गन्ध थाहा पाउन छोडको थियो । अब त हामीलाई झन पक्कै पनि कोरोना संक्रमण भएको होला भन्ने लाग्न थाल्यो ।

 

कोभिडको लक्षण देखिएपछि मैले चेकजाँच गराउन सबै भन्दा पहिला नारायणी मेडिकलका डाक्टर उदयनारायण सिहंलाई फोन गरेँ । उहाँले नआतिनुस भन्नु भयो र जीतपुरमा कोरोना चेक गर्न सल्लाह दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका बाबुलाल सहनी ज्युलाई मेरो कोरोना चेक गर्नुभयो भनेपछि उहाँले साउन १६ गतेको लागि समय मिलाउनुभयो । १३ गते (कोभिड १९) कोरोना चेक गर्न मागेको समय १६ गतेसम्ममा हामी घरमा पुर्ण आईसोलेशन भएर बसिसकेका थिर्यौ ।

 

१६ गते पि.सि.आर चेक गराउन जाने दिनसम्म भाइको सुघने क्षमता फर्किसकेको थियो । मेरो पनि ज्वरो आउने लगायतको समस्या पनि लगभग ठिक भैसकेको आभास हुदै थियो । कोभिड १९ चेक गर्न स्वाब पठाएको दोस्रो दिनपछि नै मैले आफुलाई पुर्ण स्वस्थ्य भएको महसुस गरिससकेको थिएँ ।

 

मेरो रिपोर्टसंगै म भन्दा बढी समस्या भएका र कुनै लक्षण नै नदेखिएकाहरुको पनि पोजेटिभ आयो । यस बारेमा फोन जानकारी गराउदैगर्दा मेरी श्रीमती पनि म संगै थिईन । मेरो रिपोर्ट पोजेटिभ आएकोप्रति उनलाई खासै चिन्ता थिएन । उनलाई पनि राम्ररी थाहा थियो म ज्वारो आएर ठिक भैसकेको थिएँ । तर पनि उनलाई अब घरमा बस्न दिने कि नदिने भन्ने कुरामा भने केही चिन्ता थियो ।

 

उनले म बिगत १५ दिनदेखि बस्दै आएको जसरी नै घरमै बस्नु पर्छ भनेकी थिइन । मैले पनि सम्बन्धित निकायमा अब घरकै आईसोलेशनमा बस्छु भनेर जानकारी गराए । उहाँहरुले समाजका अरु मान्छेले केही भन्लान कि भनेर प्रश्न गर्नुभएको थियो । र अस्पतालमा बस्दा राम्रो हुन्छ भन्नुभएको थियो । मेरा केही शुभचिन्तक र सहयोगी साथीहरुले पनि वीरगंजको कुनै राम्रो अस्पतालमा वा होटलमा आइसोलेशनमा बस्ने व्यवस्था मिलाइ दिने कुरा पनि गर्नुभयो । तर मलाई केही हुदैन भन्ने कुरामा म दृढि थिएँ र त्यही भएर घर बाहिर बस्न मन पनि थिएन । बरु मैले छिमेकीहरुसंग सल्लाहा गरेर घरमै बस्ने निर्णण गरिसकेको थिए । छिमेकीहरुले तपाई घरमै बस्नुस हामी पनि सुरक्षित भएर बस्छौ केही हुदैन भनेर हौसाउनु भएको थियो । वास्तवमा यस्तो अवस्थामा छिमेकी र समाजका मानिसहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुदो रहेछ । यदि छिमेकीहरुले घरमा बस्न हुदैन हामीलाई पनि संक्रमण हुन सक्छ भनेर दुत्कार्नु भएको भए भए शायद अन्यत्र जानुपर्ने हुन्थ्यो होला । यस अर्थमा म मेरा छिमेकीहरुप्रति पनि आभारी छु । जसले मलाई यसरी घरमै बस्न र कोरोना जित्न सहयोग गर्नुभयो । योबीचमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठसंग पनि सल्लाहा भयो । उहाँले पनि घरमा बस्ने व्यवस्था छ भने झन राम्रो हुन्छ भन्नुभयो । यसरी सबैको सल्लाहापछि मेरो आत्मबल झन बढ्यो । र कोरोना जित्न सफल भएको छु ।

 

सम्भवतः बारा पर्साका केही भिआइपीबाहेक घर आइसोलेशनमा बस्ने म नै पहिलो सर्वंसाधारण मान्छे हुँला । घर आइसोलेशनमा बसिरहदा मबाट मेरो परिवारमा कोरोना सर्न सक्ने सम्भावना पनि उत्तिकै उच्च थियो र कता कता मलाई त्यो कुराको डरसमेत थियो । घरमा बस्ने मेरो निर्णयका कारण मेरो घरपरिवारमा कुनै सदस्य संक्रमीत भएकोभए शायद समाजले आज घर आइसोलेशनलाई नकारात्मक रुपमा नै लिन्थ्ये होलान । तर मेरो र परिवारका सदस्यहरुको सावधानी र सुझबुझले आज हाम्रो परिवारमा सबैको कोरोना रिपोर्ट निगेटिभ छ ।

 

घरकै औषधि

घरमा बस्दा मैले सिटामोल, भिटामिन ‘सि’ र ‘ई’ संगै केहि स्थानीय र होम मेड जडिबुटीको प्रयोग गरेको छु । जुन मेरा स्थानीय शुभचिन्तक र आफन्तहरुले सल्लाह दिनुभएको थियो । म बिहानको नित्य कर्मसंगै कागती पानी पिउने गर्छु । त्यसपछि गुर्जो, तुलसी, अदुवा, बेसार, तेजपात र दालचिनीको काढा बनाएर खादै आएको छु । यस्तो काढा मैले दिनको तिन पटकसम्म पिउने गरेको छु । त्यसैगरी बिहान अनार र त्यसपछि आफुलाई मनपर्ने खाजा खाने गरेको छु । जसमा प्राय दाल, गाहुँको रोटी, खिर, तरकारी, अन्डा, चनालगायतका खानेकुरा पर्छन । दिउो १ बजे तिर सधैको जस्तो भात, दाल तरकारी, साग र साझ ४÷५ बजेकोे खाजा, राती सुत्नअघि बेसार र दुध नियमित रुपमा खादै आएको छु । मैले ज्वरो नाप्ने थर्माेमिटर, लगाउने मास्क र सेनिटाईजर पनि संगै राखेको छु । कहिले कही त लाग्थ्यो मेरो घर कुनै सुविधा सम्पन्न सरकारी आइसोलेशन सेन्टरमा भन्दा कम छैन । मेरो बुझाइमा वास्तवमा आफैले बनाएको घर आइसोलेशनको प्रयोग कोरोना संक्रमितहरुकोलागि सबै भन्दा उपयोगी स्थान हो । जहाँ हामी आफुले चाहेअनुसारको औषधि खानेकुरासंगै पारिवारिक माया र ममतासमेत प्राप्त गर्न सक्छौ । जुन कुरा अन्यत्र शंभव छैन ।

 

अन्त्यमा

कोरोना (कोभिड १९ ) सक्रमण भएसंगै फोन र समाजिक संजालबाट हौसला प्रदान गर्नुहुने अग्रज, सहकर्मी, मित्रजनहरुका साथै सबैलाई हृदयबाट नमन गर्न चाहन्छु । साथै, औषधीजन्य वस्तुको प्रयोगमा सल्लाह दिनुहुने डा. उदयनारायण सिह, असरफ हुसेन, सिमराका अशोक जैशवाल सबैलाई धन्यवाद छ । विश्वास छ, अबको केहि दिनभित्र नै मेरो दोस्रो पिसिआर रिपोर्ट आउने छ । यतिबेलामा दोस्रो परीक्षण रिपोर्ट आउन भएको ढिलाइ र त्यसको पिडालाई बिर्सेर बेसार पानी, कागती पानी र जडिबुटीको चुस्कीसंगै रमाएर बसिरहेको छु ।

प्रतिक्रिया दिनुहोस