आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुपन्देही बाट भन्सार छली ल्याइएका २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद

एपी खबर २०७९ भाद्र २३, बिहिबार (१ साल अघि) २०० पाठक संख्या

बुटवल : रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद गरेको छ। रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बुटवल र तिलोत्तमाका विभिन्न ठाउँबाट २६ लाख ६५ हजार ७५० रुपैयाँ बराबरको अवैध चिनी र कपडाहरु बरामद भएको छ।

 

बिहीवार बिहान बुटवल उपमहानगरपालिका-७ दीपनगरस्थित प्रेमनाथ अर्यालको घरबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको कपडा बरामद भएको हो। गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले अर्यालको घर खानतलसी गर्दा कोठामा राखेको कुर्था सुरूवाल १६० थान, साडी ७२ थान, लुंगी २५ थान, थानको कपडा १० रोल बरामद गरेको डीएसपी अर्यालले जानकारी दिए।

 

बरामद गरिएको कपाडाको अन्दाजी मूल्य २ लाख २७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।त्यस्तै, बिहीवार बिहान जिल्लाको तिलोत्तमा नगरपालिका-८ प्रदीपनगरबाट भन्सार छली ल्याएको २९ बोरा चिनी बरामद भएको छ। प्रहरीले ४ वटा मोटरसाइकलमा ल्याउँदै गरेको १२ बोरा र सोही स्थानमा चाङ लगाई राखेको १७ बोरा चिनी बरामद गरेको जनाएको छ।

 

डीएसपी अर्यालका अनुसार मोटरसाइकलसहित ४ जनालाई प्रहरीले प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ का २९ वर्षीय प्रवेश यादव, सोही ठाउँका २१ वर्षीय रामबचन सहानी, रोहिणी-७ का १९ वर्षीय सुनिल लोध र देवदह नगरपालिका-८ का २५ वर्षीय ईश्वरी हिताङ रहेका छन्।

 

बरामद गरिएको चिनीसहित मोटरसाइकलका अन्दाजी मूल्य ८ लाख ३० हजार ७५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।त्यस्तै, बुधवार साँझ बुटवल उपमहानगरपालिका-१७ रानीगञ्ज जनशक्ति टोलस्थित नारायणी न्यौपानेको घरमा लुकाई राखिएको र गाडीमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले १८६ बोरा चिनी बरामद गरेको छ।

 

भन्सार छली चिनी ओसारपसार हुने गरेको सूचनाको आधारमा सवारी जाँच तथा शंकास्पद स्थानहरूको खानतलासी गर्दा प्रहरीले अवैध चिनी फेला पारेको हो। लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनीट्रकमा राखिएको बिल बिजक बिनाको चिनी प्रहरीले बरामद गरेको हो।

 

बरामद गरिएको चिनीको मूल्य अन्दाजी १५ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको चिनी र कपडासहित चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भैरहवा पठाइएको डीएसपी अर्याले बताए।

प्रतिक्रिया दिनुहोस