आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चाउचाउ र बिस्कुटको भरमा सुत्केरी

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ३१८ पाठक संख्या

चैत्र २४   फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको । गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन् । त्यही पनि खोसाखोस छ यतिबेला फेटामा। फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन् । अवस्था झन् झन् दयनीय बन्दै गएको छ। त्यहाँ पुग्ने जोकोहीको आँखा रसाउँछ।

यतिबेला रेशमा खातुन बोल्न नसक्ने अवस्थामा पुग्न लागेकी छन्। उनको आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेछन् । सात बर्से छोरो सम्झँदै पलपल मूच्र्छित भइरहेको छ दम्पती।

राम्रोसँग खान नपाएका उनको दूध राम्रोसँग आउँदैन। २० दिनकी छोरी काखमा चिच्याइरहेकी छन्। कहिले छोरीलाई एकोहोरो हेर्छिन्, कहिले घोप्टो परेर रुन्छिन् ।

रेशमाका खातुनले घरीघरी छोरा फैयाज भनेर कराउने गरेको त्यसबाहेक कसैसँग बोल्न नसकेको श्रीमान फिरोजले सुनाए। छोरा फैयाजलाई घरको पर्खालले चेपेको थियो। उनको त्यहीँ ज्यान गएको थियो। ‘बुवा (मंजुर मिया)को कम्मर र खुट्टा भाँचिएर नेसनल मेडिकल कलेजमा राखेका छौं, अचेत अवस्थामा हुनुहुन्छ।’ फिरोजले पीडा पोखे।

फेटामा अहिले रेशमाजस्ता कैयौं सुत्केरी पौष्टिक आहाराको कमीले थलिँदै गएका छन्। पौष्टिक आहार के बिहान बेलुकाको खाना खान पाएका छैनन्। पुरैनिया बस्ती पूरै शोकमा छ। समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस