बैशाख १० श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले आक्रमणको पूर्वसूचना पाएर पनि पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सुरक्षा निकायको आलोचना गरेका छन् । आइतबार श्रीलंकाका चर्च र होटेलमा शृंखलाबद्ध विस्फोटमा ठूलो मानवीय क्षति भएको भोलिपल्टै प्रधानमन्त्रीले सुरक्षा निकायको आलोचना गरेका हुन् । सुरक्षा निकायका अधिकारीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने उनले बताएका छन् । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्रीले आक्रमणबारे प्राप्त सूचना आफूलगायत अन्य मन्त्रीहरूलाई उपलब्ध नगराइएको बताए ।
मृत्यु हुने २९० पुगे
श्रीलंकाको राजधानी कोलम्बोका होटेल र चर्चमा आइतबार भएका शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, राजधानी नजिककै सेन्ट सेबास्टियन चर्च र देशको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको अर्को चर्चमा विस्फोट भएको थियो । चर्चमा विस्फोट भएलगत्तै ५ होटेलमा विस्फोट गराइएको थियो । प्रहरीले विस्फोटमा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको छ । आक्रमणमा यसअघि यदाकदा चर्चामा आएको जिहादी समूह राष्ट्रिय थोविद जमाथ (एनटिजे) संलग्न रहेको सरकारले दाबी गरेको छ, तर कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।
दश दिनअघि अलर्ट
आइतबार भएको नरसंहारबारे दश दिनअघि सुरक्षा निकायका उच्च अधिकारीलाई निर्देशन दिइएको थियो, तर सो विषयमा प्रधानमन्त्री र मन्त्रीहरूलाई जानकारी दिइएको थिएन । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महŒवपूर्ण चर्चमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए । प्रहरी प्रमुख पुजुथले अप्रिल ११ मा प्रहरीका वरिष्ठ अधिकारीलाई गोप्य सूचना पठाएर सम्भावित हमलाबारे जानकारी गराएका थिए ।
‘एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटिजे) नामको समूहले देशका प्रमुख चर्च र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,’ प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ । एनटिजे श्रीलंकामा सक्रिय अतिवादी मुस्लिम संगठन हो र यो संगठनबारे गत वर्ष मात्र जानकारी आएको थियो । यस समूहले गत वर्ष देशका केही स्थानका बौद्धमूर्ति तोडफोड गरेको थियो । आक्रमणको चेतावनीका बाबजुद पर्याप्त सुरक्षा दिन नसकेको भन्दै सुरक्षा निकायको आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस