आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

AuthorAP Khabar२०७६ पौष ९, बुधबार (४ साल अघि) ३६० पाठक संख्या

पौष ०९ काठमाडौं ।

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ।

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्।

१३औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्ट्टै गुटबन्दी झागिन पुग्यो। जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन।

आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ। केन्द्रीय र जिल्ला समितिबाहेक पार्टीका सबै निकाय र अंग निष्क्रिय बनिरहेका बेला १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय समिति पनि अनिर्णीत बन्न पुगेको छ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि राष्ट्रिय राजनीतिमा पनि भूमिकाबिहीन बनेकोे कांग्रेसका नेताको ध्यान अहिले पनि संगठन होइन गुट निर्माणमै केन्द्रित छ। नेताहरू संगठन बनाउनभन्दा पनि एकअर्कालाई कमजोर देखाएर/बनाएर आगामी महाधिवेशनको परिणाम अआफ्नो पक्षमा पार्न उद्यत् देखिन्छन्।

संस्थापन र इतर पक्ष आआफ्नै स्वार्थखातिर सक्रिय हुँदा करिब दुई साताअघि बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

मंसिर २९ देखि सुरु केन्द्रीय समिति बैठकको अजेन्डामा १४औं महाधिवेशनको कार्यतालिका नपरेको भन्दै नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएका छन्।

असन्तुष्ट पक्षको बहिष्कारपछि संस्थापन सभापति देउवा पक्षले सहमतिको प्रयासस्वरुप थाले पनि अहिलेसम्म दुई पक्ष समझदारीमा पुग्न सकेको अवस्था छैन। १४औं महाधिवेशन २०७७ को मध्य फागुनमा गर्नेगरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गर्न दुवै पक्ष सहमत भए पनि भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यसमितिमा कुन पक्षले कति कोटा लिने भन्ने विवाद पेचिलो बनेको छ।

आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिका गुट र समूहहरूले आआफ्नो स्वार्थलाई केन्द्रमा राख्दा कांग्रेसभित्रको समस्या बल्झिँदै गएको छ।

आधा दर्जन बढी गुट र समूहमा विभाजित कांग्रेसमा आठदेखि दसजना नेताले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षा पालेका छन्।

सभापति देउवा र नेता पौडेल नेतृत्वका दुई मुख्य गुटभित्र आधा दर्जन बढी उपगुट सक्रिय रहेको कांग्रेसमा उपसभापति विजयकुमार गच्छेदार, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र कुलबहादुर गुरुङ नेतृत्वका छुट्टछुट्टै समूह सक्रिय छन्।

नेता खुमबहादुर खड्काको निधनअघिसम्म उनले नेतृत्वमा अर्को शक्तिशाली समूह पार्टीमा सक्रिय थियो। खड्काको निधनपछि उक्त समूह देउवा नेतृत्व गुटभित्रको उपगुटमा विकास हुँदै आएको छ।

साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कासहितको उपगुटहरू पनि देउवा गुटमा सक्रिय छन्। देउवा पत्नी आरजु पनि आफैं गुट बनाउन लागिपरेकी छिन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस