आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी लाइसेन्सको लिखित परीक्षा दिन ३ महिने कोर्स लिनुपर्ने

AuthorAP Khabar२०७६ पौष १३, आईतबार (४ साल अघि) ३६५ पाठक संख्या

पौष १३ काठमाडौं ।

सरकारले ठूला सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै लाइसेन्स लिनका लागि तीनमहीने कोर्ष नै लिनुपर्ने गरी संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेको छ ।

हाल सामान्य लिखित परीक्षापछि ट्रायल दिएर ट्रायलमा पास भएपछि विभागले लाइसेन्स दिइरहेकोमा ठूला सवारीसाधनका लागि लाइसेन्समा कडाइ गर्दै विभागले परीक्षाको स्वरूप परिवर्तन गर्न लागेको हो ।

विभागका अनुसार उक्त मस्यौदा पास भएर ऐन बनेपछि सवारी चालकले तीनमहीने कोर्ष लिएर मात्रै लिखित परीक्षा दिन पाउनेछन् ।

उक्त परीक्षामा पास भएपछि चालकले ट्रायल दिनुपर्नेछ । तर, उक्त ट्रायलमा पास हुँदैमा चालकले लाइसेन्स पाउने छैनन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘ट्रायलपछि चालकले सडकमा ६ महीनासम्म सवारी चलाउनुपर्नेछ र सडकको रिपोर्ट राम्रो आएपछि मात्र चालकले लाइसेन्स पाउनेछन् ।’

उक्त रिपोर्ट कार्ड राम्रो नभए क्रमशः ३र३ महीना म्याद थपिने उनले बताए ।

विभागले सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेकाले लाइसेन्स वितरणमा कडाइ गर्न लागेको हो । यसले बढ्दो सवारी दुर्घटनालाई घटाउने विश्वास विभागको छ ।

‘सवारी सुरक्षालाई ध्यानमा राखी ठूला सवारीसाधनको लाइसेन्समा कडाइ गर्न लागिएको हो,’ हमालले भने ।

ऐनको मस्यौदामाथि विभागले पुस १३ र १४ गते सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीसँग छलफल गर्दै छ ।

प्रदेश सरकारसँगको छलफलपछि मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने महानिर्देशक हमालले बताए । मन्त्रालयले उक्त ऐनमाथि विज्ञको सुझाव लिनेछ र संसद्मा पठाउनेछ ।

यद्यपि, विभागले प्रदेश सरकारसँग छलफल गरी ऐन संशोधन गर्न पनि सक्नेछ । विभागबाट उक्त मस्यौदा मन्त्रालयमा गयो भने पनि विज्ञको सुझाव लिएर यसलाई संशोधन गर्न सक्ने अधिकार मन्त्रालयसँग छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस