चैत ०४ काठमाडौं : कोरोनाभाइरस संक्रमणबाट भारतमा थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
महाराष्ट्र सरकारका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिख अर्थात फागुन २२ गते भर्ना भएका ६३ वर्षीय पुरुषको आज (मंगलबार) मृत्युभारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन भएको हो । उनी दुबईबाट भारत फर्किएका थिए ।
गत डिसेम्बार चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोनाभाइरस अहिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको छ । हालसम्म यो भाइरस १ सय ६२ देशमा फैलिसकेको छ ।
भारत सरकारले यो महामारी भारतमा विस्तार नहोस् भनेर व्यापक सावधान अपनाइरहेको छ ।
सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरायल, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्ने रोक लगाएको छ ।
सरकारको यो निर्णयबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएको छ ।
भारतमा अहिलेसम्म केही विदेशीसहित १ सय २६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ । त्यहाँ झण्डै ६ हजार मानिसमा कोरोना परीक्षण गरिएको छ ।
अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस