आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोहली चम्किएपछि बैंग्लोरले चेन्नाईलाई ३७ रनले हरायो

एपी खबर २०७७ आश्विन २५, आईतबार (३ साल अघि) ४५० पाठक संख्या

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले हराएको छ । कप्तान बिराट कोहलीको कप्तानी पारी र बलरहरुको उम्दा प्रदर्शनको मद्दतमा बैंग्लोरले चेन्नाई पराजित गरेको थियो ।

 

कोहलीको कप्तानी पारीमा चेन्नाईसामु १७० रनको लक्ष्य पेश गरेको थियो । चेन्नाईको टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटियो ।

 

चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए । जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित र चेन्नाईको पाँचौ हार हो ।

 

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ९० रन बनाए । ५२ बल सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । नटआउट रहेका उनी म्यान अफ द म्याच भए ।

 

यसैगरी देवदूत पाडिक्कलले ३३ रन जोड्दा आरोन फिन्च २ रनमा आउट भए । एबि डिभिलियर्सले खाता नै खोल्न सकेनन् । वाशिङ्गटन सुन्दरले १० र शिवम दुवेले नटआउट २२ रन योगदान गरे । बलिङतर्फ शार्दुल ठाकुरले २ तथा साम कुरान र दीपक चहारले १–१ विकेट लिए ।

 

जितका लागि १७० रनको लक्ष्य पछ्याएको चेन्नाईको टोली बैंग्लोरको कसिलो बलिङसामु निरीह देखियो । उसको सुरुवात नै खराब रह्यो । केबल २५ रन बनाउँदै चेन्नाईले २ विकेट गुमाइसकेको थियो ।

 

ओपनरद्वय शेन वाटसन र फाफ डु प्लेसिस क्रिजमा टिक्नै सकेनन् । प्लेसिस चौथो ओभरमा वाशिङ्गटन सुन्दरको शिकार बने । उनले ८ रन मात्र बनाउन सके । आफ्नो अर्को ओभरमा वाशिङ्गटनले वाटसनलाई पनि १४ रनमा पेभेलियनको बाटो देखाइदिए ।

 

संकटमा देखिएको चेन्नाईलाई केहीबेर अम्बाती रायडु र पहिलो म्याच खेलेका नारायण जगदिशनले सम्हाले । रायडु र जगदिशनले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । ४२ रन बनाएका अम्बाती रायडु चेन्नाईका टप स्कोरर रहे । नारायण जगदिशन ३३ रन बटुलेर रन आउट भए ।

 

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन पनि खराब रह्यो । उनी १० रनमा आउट भए । युजवेन्द्र चहलले धोनीलाई आउट गरे । साम कुरानले त खाता नै खोल्न सकेनन् । बलिङतर्फ क्रिस मोरिसले ३ र वाशिङ्गटन सुन्दरले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस