आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बोलोभियामाथि ब्राजिलको फराकिलो जित

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) २९४ पाठक संख्या

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ ।ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५–० ले पराजित गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १–१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।

 

खेलको १६ औं मिनेटमा नै ब्राजिलले अग्रता लिएको थियो । डिफेन्डर ड्यानीलोको क्रसमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै दक्षिण अमेरिकी च्यापियनलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर पारे ।नेयामार र रेनान लोडीले पेनाल्टी क्षेत्रभित्र वन–टु पास खेलेपछि लोडीले दिएको लो क्रसलाई फिर्मिनोले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेका थिए ।

 

दोस्रो हाफको सुरुवातमै ब्राजिलले अग्रता बढायो । ४८ औं मिनेटमा नेयामारको क्रसमा फिर्मिनोको प्रहार गोलरक्षकको खुट्टा मुनिबाट छिर्दै गोलमा परिणत भएको थियो । ५७ औं मिनेटमा नेयमारको प्रहारले पोस्टको दिशा लिन सकेन ।६६ औं मिनेटमा ब्राजिलले ४–० को अग्रता लियो । फिलिपे कोउटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो । ७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५ गोलको अग्रता दिलाए । उनले नेयमारको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए ।

 

७८ औं मिनेटमा नेयमारले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै उक्त गोललाई मान्यता दिएनन् । त्यसको केहि मिनेटमा नै नेयमारले गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । इन्ज्युरी समयमा नेयमारको फ्रिकिकलाई गोलरक्षकले सानदार बचाउ गरे ।

 

दक्षिण अमेरिकी छनोटमा पहिलो चरणको खेल समापन हुँदा ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलसँगै कोलम्बिया, उरुग्वे र अर्जेन्टिनाले पनि आ(आफ्नो खेलमा जित दर्ता गरेका छन् । गोल अन्तरको आधारमा ब्राजिल अगाडी रहेको छ । आज भएको पहिलो खेलमा कोलम्बियाले भेनेजुएलालाई हराएको थियो ।

 

छनोटको दोस्रो चरणमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्दैछ । मंगलबार हुने खेलमा इक्वेडर र उरुग्वे तथा भेनेजुएला र पाराग्वे खेल्नेछन् । पेरुले ब्राजिलको सामना गर्दै चिली र कोलोम्बियाबीच प्रतिस्पर्धा हुनेछ । छनोटको अन्त्यमा शीर्ष ४ मा रहने टोली सिधै विश्वकपमा खेल्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस