आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित

एपी खबर २०८० आश्विन २४, बुधबार (७ महिना अघि) १३० पाठक संख्या

काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । हैदराबादमा भएको खेलमा पाकिस्तानले ६ विकेटको कीर्तिमानी जित हासिल गर्‍यो ।पाकिस्तानले विश्वकप इतिहासकै सबैभन्दा बढी रनको लक्ष्य पुरा गर्दै कीर्तिमान कायम गरेको हो । श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पकस्तिानले १० बल बाँकी छदैँ ४ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानका लागि अ‍ोपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानले सतक बनाए ।

 

रिजवानले १ सय २१ बलमा ८ चौका र ३ छक्कासहित १ सय ३१ रन बनाए । शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रनको पारी खेले । यस्तै साउद सकिलले ३० बलमा ३१ रन बनाउँदा इफ्तिखर अहमदले १० बलमा ४ चौकासहित २२ रन बनाए । कप्तान बाबर आजम १० रनमा आउट भए । श्रीलंकाका दिलशान मदुशानकाले दुई, महेश थिक्सना र मथिसा पाथिरानाले समान एक/एक विकेट लिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले ।मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

 

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक/एक विकेट लिए । जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस