आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालले १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जित्यो

एपी खबर २०८० कार्तिक ७, मंगलबार (६ महिना अघि) ८० पाठक संख्या

काठमाडौँ– नेपालले एसिसी यू-१९ प्रमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

 

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे ।

 

दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए । यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए । जबाफी ब्याटिङमा उत्रिएको यूएईले सन्तोषजनक सुरुआत गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए । नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस